
-दिवस रिजाल/ईमेज
खोटाङ । खोटाङको दिक्तेल–खानीडाँडा–आहाले सडक ठेकेदारको लापरवाहीका कारण अलपत्र परेको छ ।
सडक हिलाम्मे तथा जीर्ण हुँदा र ठेकेदारले काम नगरी बेखबर हुँदासमेत सम्बन्धित निकायले चासो राखेको छैन ।
जसले गर्दा नुन तेललगायत खाद्यान्न ढुवानीको समस्या ज्यूँकात्यूँ छ ।
दिक्तेल खानीडाँडा अहालेबासीको गाडी चढ्ने सपना यो वर्ष पनि अधुरो नै हुने निश्चित छ ।
गाडि नहुँदा डोकोको माध्यमबाट भारी बोकेर नुन तेल र खाद्यान्न ओसारपसार गर्दै आएका यहाँका बासिन्दाको सडक बनेपछि भारी बिसाउने आशा पनि आशामै सिमित हुने देखिएको छ ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको २१ करोड १ लाख ८८ हजारको लागतमा निर्माण सम्पन्न गर्ने गरी याकथुहाङ–साप–सिरुवा जेभीले २०७५ असोज १ गते ठेक्का जिम्मा लिएको थियो ।
दुई वर्ष बितिसक्दा समेत ठेकेदारले सडक निर्माणमा चासो नदिएपछि हाल यो सडकखण्ड जिर्ण अवस्थामा पुगेको हो ।
सडक निर्माणमा ढिलाइ हुँदा पनि राष्ट्रिय पुनः निर्माण प्राधिकरण कार्यालयले ठेकेदार कम्पनीलाई केही गर्न नसकेको स्थानीय डिल्ली बस्नेतले आरोप लगाएका छन् ।
ठेकेदार कम्पनी र सम्बन्धित कार्यालयका इन्जिनियरसँगको मिलेमतोमा सडक निर्माणमा समस्या आएको बस्नेतको भनाई छ ।
स्थानीय जनप्रतिनिधिले महत्वका साथ अनुगमन गर्दा समेत सडक खण्ड जीर्ण बनेको जनप्रतिनिधि दिपक परियारले बताउनुभयो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेलबजारबाट खानीडाँडा–रेग्मीटार हुँदै सगरमाथा राजमार्ग जोड्ने सो सडकमा गुणस्तरहिन काम गरेको भन्दै ठेकेदार कम्पनी माथि आक्रोस पोखेका छन ।
यता प्राधिकरणका प्रमुख धनश्याम उपाध्यायले पनि वाल, ब्रेस्ट वाल, स्टोन मेसेनरी वाल लगायतका विभिन्न संरचनामा गुणस्तरहीन काम भएको स्वीकार्नु भयो ।
निर्माण कम्पनीले ६ करोड ६० लाख ६५ हजार रुपैया भुक्तानी समेत लिसकेको प्रमुख उपाध्यायले बताउनुभयो ।
निर्माण कम्पनीका प्रमुख शिव चौलागाईंले सडक कालोपत्रेको काम कोरोना भाइरस कोभिड १९ का कारण ढिलाइ भएको भन्दै चाडै काम सुरु गर्ने भन्दै पन्छिएका छन् ।
हिउँदको समयमा छ महिनामात्र सञ्चालन हुने सो सडक कालोपत्रको काममा ढिला सुस्ती भएपछि दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या आएको हो ।
जोखिम मोलेर हिडडुल गर्नुपर्ने बाध्यता रहेको यो सडक खण्डमा अहिले विरामी हुँदा एम्वुलेन्स त के कुनै पनि सवारीसाधन सञ्चालनमा आएका छैनन् ।
दिक्तेलदेखि आहालेसम्मको करिव ११ किलोमिटर सडक १८ महिना भित्र सम्पन्न गर्ने जिम्मा लिएको निर्माण कम्पनीले हाल ३१ प्रतिशत मात्र काम सम्पन्न गरेको छ ।
त्यसैले पनि यस सडक खण्डको काम अगाडि बढाउन सम्बन्धित निकायले बेवस्ता गरे स्थानीय आफै जागरुक भएर सडक नबन्नुको कारण खोज्नु जरुरी भईसकेको छ ।
प्रतिक्रिया दिनुहोस्