
काठमाडौं, भदौ १० । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साताका लागि थपिएसँगै उपत्यका प्रवेशमा थप कडाइ गरिएको छ ।
उपत्यकाभित्र पनि अत्यावश्यकबाहेकका सवारी-साधन सञ्चालनमा रोक लगाइएको छ । मुख्य सडकका चोक-चोकमा प्रहरीले चेकजाँचलाई कडाइ गरेको छ ।
अत्यावश्यक सेवाका सवारी-साधन भने परिचयपत्रका आधारमा सञ्चालनमा आउन पाएका छन् ।
उपत्यका भित्रने नाकाहरुबाट खाद्यान्न, फलफूल, औषधि, तरकारी, दुग्ध र मासुजन्य सामग्री बोकेका सवारी-साधनलाई सहजै प्रवेश गर्न दिइएको छ ।
त्यसबाहेक एम्बुलेन्स, निर्माणजन्य सामग्री बोेकेका सवारी-साधनहरु पनि सोधपुछ गरी प्रवेश गर्न दिइएको छ ।
त्यस्तै, अत्यावश्यक कामका लागि आउनेहरुलाई पनि सोधपुछ गरी सम्पर्क विवरण टिपेर प्रवेश गर्न दिएको छ । उपत्यकाबाहिर जाने सवारी-साधन भने खासै देखिएका छैनन् ।
यस्तै, भक्तपुरतर्फको साँगा नाकामा पनि प्रहरीले कडाइ गरेको छ । उपत्यका प्रवेश गर्ने सवारी-साधन कम मात्रामा देखिन्छन् ।
यस नाकामा पनि प्रहरीले सवारी-साधनमा आउने मानिसहरुको विवरण टिपेर पठाउने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्