
काठमाडौं, भदौ १० । प्रहरीले क्यानडा पठाइदिने भनी रु २१ लाख ठगी गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।
प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले आफू प्रभावशाली व्यक्ति भएको र क्यानडा पठाउन सक्ने भन्दै रु २१ लाख ठगी गर्ने सुर्खेतका २९ वर्षीय ध्रुव थापा, २४ वर्षीया सन्ध्या थापा र सुनसरीका ४६ वर्षीय राजेन्द्रकुमार श्रेष्ठलाई बुधबार दिउँसो धापासीबाट पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले मोरङ, शनिश्चरे घर भइ कपन, सरस्वतीनगर बस्दै आएका नारायण खड्कालाई क्यानडा पठाइदिन्छु भनी रु २१ लाख ठगी गरेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
प्रारम्भिकरुपमा खड्कासँग रु २१ लाख ठगेपनि उनीहरुले धेरै व्यक्तिलाई ठगेको हुनसक्ने प्रहरीले जनाएको छ ।
पक्राउ तीनैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बुधबारै महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्