
काठमाडौं । दुवै मृगौला फेल भएर छटपटाइरहेका सूर्योदय नगरपालिका–६, कन्यामका ५२ वर्षे मित्रप्रसाद चापागाईं (विनोद) उपचारका लागि सहयोगको याचना गरेका छन् ।
कमजोर आर्थिक अवस्था भएका चापागाईंले एक वर्षयता काठमाडौंमा उपचार गराउँदा भएभरको जेथो सकिएपछि आफ्नो जीवन बचाइदिन सबैसँग सहयोग याचना गरेका हुन ।
साथीभाइ सबैसँग सरसापटी गर्दासमेत मृगौला फेर्न नसकेको र प्रत्येक साता डाइाइसिस गराउने औषधिका लागि नै खर्च अभाव भइरहेको चापागाईंले गुनासो गरेका छन् । दुवै मृगौला प्रत्यारोपण गर्न चिकित्सकले २२ लाख रुपैयाँ खर्च लाग्ने बताएको उनले जनाए ।
सम्पत्तिका नाममा कन्याममा आफ्नो अंशमा परेको डेढ रोपनी जग्गामात्रै भएको र त्यो पनि बेचेर खर्च गर्दासमेत सबै रकम सकिएर जीवन–मरणको दोसाँधमा आइपुगेको चापागाईंको गुनासो छ ।
मित्रप्रसादको उपचार गर्दा अहिलेसम्म १४ लाख रुपैयाँ खर्च भइसकेको परिवारजनले बताएका छन् । पीडितका छोरा प्रवीण सवारी साधनको कामदार भएपनि देशमा लकडाउन सुरु भएपछि उनको रोजगारी गुमेको छ । छोराको रोजगारी गुमेपछि आफ्नो उपचार गराउन ज्यादै सकस परेको मित्रप्रसादले बताए ।
मित्रप्रसादको उपचार सहयोग रकम संकलन गर्न ग्लोबल बैंकको फिक्कल शाखामा लेखनाथ दाहाल र हेमचन्द्र चापागाईंको नाममा २७०७०१०००९४५४ नम्बरको खातासमेत खोलिएको छ ।
‘डाक्टरले जतिसक्दो चाँडो मृगौला प्रत्यारोपण गर्न सल्लाह दिएका छन्,’ पीडित चापागाईंले भने, ‘तर, म आफूले अब आफ्नो जीवन बचाउन सक्ने अवस्था छैन, कोही इष्टमित्र, नातागोता, साथीभाइ र मनकारी सहयोगीको भएमा मात्र मैले जीवन पाउँछु ।’
प्रतिक्रिया दिनुहोस्