
काठमाडौं, भदौ ११ । लक्षण नभएका र सामान्य लक्षण भएका कोरोना संक्रमितलाई ‘डिस्चार्ज’ गर्ने सरकारी निर्णय गलत भएको जनस्वास्थ्यविज्ञहरुले बताएका छन ।
परीक्षणलाई बेवास्ता गर्दा संक्रमितले अरुलाई सार्ने सम्भावना बढी हुने भएकाले सरकारको निर्णय पूर्णरुपमा गलत भएको उनीहरुको भनाइ छ ।
संक्रमितको १० दिनपछि परीक्षण गर्नु ठिकै भएपनि सामान्य लक्षण भएका र लक्षण नभएका बिरामीलाई १४ दिनपछि परीक्षणबिना घर पठाउनु नेपालको परिवेशमा सही नभएको जनस्वास्थ्यविज्ञ डा. समिरमणि दीक्षितले बताउनुभयो ।
पहिलोपटक कोरोना देखिएको चीनमा समेत ३० दिनसम्म पनि भाइरस निस्क्रिय नभएको परिवेशमा नेपालमा १४ दिनमा बिनापरीक्षण छोड्ने निर्णय पूर्णरुपमा गलत भएको उहाँले बताउनुभयो ।
यता, सरकारले भने विश्व स्वास्थ्य संगठनले १० दिनपछि कुनैपनि संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण हुँदैन भन्ने तथ्यहरु पेस गरेर निर्देशिका बनाएपछि सोहीअनुसार निर्णय गरिएको बताएको छ ।
मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले लक्षण नभएका व्यक्तिको हकमा १४ दिनपछि परीक्षण नगरी घर पठाउँदा कुनै समस्या नहुने जिकिर गर्नुभयो ।
तर, जनस्वास्थ्यविज्ञ डा. दीक्षितले तराईका जिल्लाहरुमा क्वारेन्टिनबाट परीक्षण नगरी घर पठाउँदा अहिलेको अवस्था आएको उल्लेख गर्दै १५ दिनपछि पोजिटिभ हुँदैन भन्ने सोचले तराईकोजस्तो अवस्था देशभरि हुने चेतावनी दिनुभयो ।
नेपालको परिवेशमा कुनै अनुसन्धान नै नगरी १५ दिनमा भाइरस शरीरमा रहँदैन भन्न नमिल्ने उहाँले बताउनुभयो ।
अर्का जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले पनि परीक्षण नगरी संक्रमितलाई डिस्चार्ज गर्न उपयुक्त नहुने बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत्को आपत्कालीन स्वास्थ्य कार्यसञ्चालन केन्द्रले सातओटै प्रदेशका सामाजिक विकास मन्त्रालय र देशभरिका कोभिड अस्पताललाई पत्राचार गरी १० दिनमा ‘पीसीआर’ गरी ‘पोजिटिभ’ आएमा लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितलाई थप चार दिन राखेर परीक्षण नै नगरी डिस्चार्ज गर्न भनेको थियो ।
१४ दिनपछि डिस्चार्ज नगरिए सरकारले सोधभर्ना नव्यहोर्ने चेतावनीसहित मन्त्रालयले कोभिड अस्पताल र प्रदेश सामाजिक विकास मन्त्रालयहरुलाई पत्राचार गरेको हो ।
प्रतिक्रिया दिनुहोस्