
झापा, भदौ ११ । प्रहरीको गोली लागी मृत्यु भएका झापा गाउँपालिका-३ का रफिकुल आलमको शव परिवारले बुझेको छ ।
मृतक परिवारलाई न्यूनतम् १० लाख रुपैयाँ उपलब्ध गराउने, घटनामा दोषी देखिएका सुरक्षाकर्मीलाई विभागीय कारबाही गर्ने, किरिया खर्चवापत् ५० हजार रुपैयाँ उपलब्ध गराउनेलगायतका सहमति भएपछि परिवारले शव बुझेको हो ।
बिहीबार प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरको रोहबरमा भएको वार्तामा पीडित पक्षको माग सम्बोधन गर्ने सहमतिपछि शव आफन्तले बुझेका हुन् ।
सहमतिमा मृतकका छोरा-छोरीको पठनपाठनका लागि संघीय र प्रदेश सरकारसँग पहल गर्नेलगायतका बुँदा उल्लेख छ ।
घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन भएको छ ।
बुधबार झापा गाउँपालिका वडा नम्बर-३, कामाटोलीमा गोरु काटेको विषयमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएपछि विवाद सिर्जना भएको थियो । सोक्रममा प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले गोली चलाएको थियो ।
गोली लागी गम्भीर घाइते भएका ३८ वर्षीय आलमको उपचारका क्रममा बुधबारै राति बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्