
प्रज्ञा तिमल्सिना (इमेज)
काठमाडौं, भदौ १२ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण डरलाग्दो ढंगबाट फैलिँदै गएको छ ।
साउन महिनायता बढ्दै गएको संक्रमणको दर नरोकिने हो भने अवस्था भयावह बन्ने संकेत देखिएको छ ।
नेपालमा पछिल्लो चार महिनाको अवधिमा काठमाडौं उपत्यकामा ३८२ जनामात्र कोरोना संक्रमित थिए ।
तर, ‘लकडाउन’ खुलेको साउन ७ गतेयता एक महिनाको अवधिमा यो संख्या बढेर चार हजार ४२९ पुगेको छ । हालसम्म काठमाडौंमा तीन हजार ४४५ जना संक्रमित छन् ।
लकडाउन खुलेसँगै बढ्न थालेको संक्रमितको संख्या दिनहुँ उकालो लाग्नेक्रममा छ ।
केही समय १०० माथि रहेको संक्रमितको संख्या केही दिनयता भने ३०० नाघेको छ । शुक्रबार त यो रेकर्ड तोडिएर उपत्यकामा एकैदिन ४१५ जनामा संक्रमण देखियो । तीमध्ये ३५० काठमाडौंका मात्रै छन् ।
उपत्यकामा चार हजार ३४२ जना सक्रिय संक्रमित छन् भने २४ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ ।
साउन २७ गते ११० सहित उपत्यकामा १३४ जनामा संक्रमण भेटिएसँगै बढ्न थालेको संक्रमणको दर भदौ महिनादेखि झन् बढ्न थालेको देखिन्छ ।
भदौ ११ गते ३७७ जना संक्रमित भेटिएका थिए भने भदौ १० गते पनि ३०१ जनामा संक्रमण देखियो ।
उपत्यकामा निषेधाज्ञा जारी गरेपछिको १० दिनमा मात्र दुई हजार ४७२ जना संक्रमित भेटिएका छन् ।
जसमा भदौ ३ गते १५९ जना थपिएका थिए भने ४ गते २००, भदौ ५ गते १८२ जनामा संक्रमण देखिएको थियो ।
भदौ ६ गते २१६, भदौ ७ गते १६६, भदौ ८ गते २२४, भदौ ९ गते २३२ जनामा संक्रमण पुष्टि भएको थियो । भदौ १० गते ३०१ र भदौ ११ गते ३७७ जनामा संक्रमण पुष्टि भएको छ ।
उपत्यकामा संक्रमण प्रहरी हेडक्वार्टरदेखि, अख्तियार, नेताका सुरक्षाकर्मी, व्यापारिक क्षेत्र हुँदै सर्वसाधारणसम्म फैलिसकेको छ ।
संक्रमितमध्ये ६० प्रतिशत आयातित नै रहेको जनाइएको छ । जसमा बारा, पर्सा र भारतबाट आएका बढी छन् ।
संक्रमणको यस्तो फैलावटलाई विज्ञहरु निकै डरलाग्दो बताउँछन् । सुरुका केही दिन आयातित केस रहे तापनि हाल संक्रमण दोस्रो–तेस्रो चरणमा प्रवेश गरिसकेको उनीहरुको भनाइ छ ।
परिवारको कुनै सदस्यमा देखिएको संक्रमण एकपछि अर्को व्यक्तिमा सर्दैछ । जसले उपत्यकामा अबको अवस्था निकै चुनौतीपूर्ण हुने विज्ञहरुले चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्