१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘होम डेलिभरी’ जरुरी छैन : काठमाडौं प्रशासन


0
Shares

kathmandu valley lockdown corona

काठमाडौं, भदौ १२ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा तत्काल ‘होम डेलिभरी’ सेवा जरुरी नभएको प्रष्ट्याएको छ ।

हरेक बिहान ९ः१५ सम्म खाद्य सामग्री खरिद–बिक्रीको समय पर्याप्त भएको उल्लेख गर्दै प्रशासनले कोभिड–१९ संक्रमण जोखिमको विषम परिस्थितिमा अनावश्यक भिडभाड गर्न नहुनेतर्फ ध्यानाकर्षण गराएको छ ।

खाद्य परिकारलगायत घरायसी वस्तु घर-घरमा पुर्‍याउँदा संक्रमण फैलिनसक्ने जोखिम रहेको बताउँदै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले तत्कालका लागि त्यस्तो सेवा सञ्चालन गर्न नहुनेमा जोड दिनुभयो ।

‘होटलबाट खाना पोको पारेर लैजाने सेवासमेत बन्द छ, प्रशासनले जारी गरेको आदेशमा होम डेलिभरी सेवाबारे उल्लेख छैन’-प्रजिअ दाहालले राससँग भन्नुभयो-‘वाणिज्य विभागले एउटा मापदण्ड बनाउनुपर्छ र डेलिभरी गर्ने व्यक्तिको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ छ भन्ने प्रमाणित गराएरमात्रै उक्त सेवा सञ्चालन गर्नुपर्छ ।’

प्रहरीले डेलिभरी सेवा रोक्न थालेपछि ती संस्थाका प्रतिनिधिले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउँदै सेवा सञ्चालन गर्न दिन माग गरेका थिए ।

त्यसको जवाफमा प्रजिअ दाहालले तत्काल सेवा सञ्चालन गर्न नसकिने जवाफ दिनुभएको छ ।

‘हाम्रो ध्यानाकर्षण भएको छ, त्यस विषयमा छलफल हुने नै छ । निषेधको आदेश लम्बिन गयो भने एउटा निचोडमा पुग्न सकिन्छ । तर, अहिलेकै अवस्थामा सेवा सम्भव छैन’-प्रजिअ दाहालले भन्नुभयो ।

उहाँले यसरी सेवा दिने हजारौं मोटरसाइकल सडकमा निस्किने र घर-घरमा पुग्ने भएकाले जनस्वास्थ्यको ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । रासस