
बेइजिङ, भदौ १२ । संयुक्तराज्य अमेरिकाले चिनियाँ सामाजिक सञ्जाल ‘विच्याट’लाई प्रतिबन्ध लगायो भने चिनियाँ उपभोक्ताले ‘एप्पल’को बहिष्कार गर्नसक्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार चेतावनी दिनुभएको छ ।
प्रसिद्ध सामाजिक सञ्जाल विच्याट र ‘टिकटक’को प्रयोगमा प्रतिबन्ध लगाउने अमेरिकी ट्रम्प प्रशासनले बताइरहेका समय चीनको उक्त भनाइ आएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बरको मध्यदेखि विच्याट र टिकटकमा प्रतिबन्धको घोषणा यसै महिना गर्नुभएको हो ।
राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने आरोप लगाउँदै ती सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने बताएपछि बेइजिङ र वासिङटनबीच तनाव थप बढेको देखिएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिच्यानले शुक्रबार ट्वीटरमार्फत् जारी सन्देशमा भनिएको छ-‘यदि, विच्याटलाई अमेरिकामा प्रतिबन्ध लगाइयो भने चिनियाँहरूले ‘आइफोन’ र एप्पलका उत्पादनहरूलाई राख्नुपर्ने कुनै कारण हुने छैन ।’
यसअघि, बिहीबार झाओले भन्नुभएको थियो-‘धेरै चिनियाँहरूले अमेरिकामा विच्याटलाई प्रतिबन्ध गरिएमा चीनमा आइफोन प्रयोग गर्न बन्द गर्नुपर्ने आवाज उठिरहेका छन् ।’
चिनियाँ एपलाई लक्षित गरी अमेरिकाले गैरअमेरिकी कम्पनीहरूलाई व्यवस्थितरूपमा आर्थिक आक्रमण गरिरहेको उहाँले दाबी गर्नुभयो ।
बेइजिङले अमेरिकी उत्पादनको बहिष्कार गर्ने चेतावनीभन्दा पहिले विश्वका दुई शक्ति राष्ट्रहरूबीच व्यापार विवाद कायमै थियो ।
यसबाहेक अमेरिका र चीनबीच दक्षिण चीनमा रहेको ‘साउथ चाइना सी’मा सैन्य गतिविधि, हङकङलाई हेर्ने दृष्टिकोण तथा कोरोनाभाइरसको उत्पत्ति र यसलाई फैलिन नदिने विषयमा चीनले बेवास्ता गरेको भन्दै अमेरिकाले आरोप लगाउँदै आएको छ । चीनले अमेरिकी आरोपलाई खन्डन गर्दै आइरहेको छ ।
चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले शुक्रबार झाओको चेतावनीबारे मिश्रित प्रतिक्रिया दिएका छन् । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्