१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाबाट काठमाडौंकी एक महिलासहित थप चार जनाको मृत्यु


0
Shares

patan hospital, corona death

काठमाडौं । कोरोना संक्रमणका कारण थप चार जनाको मृत्यु भएको छ ।

ललितपुर, वीरगञ्ज, पाल्पा र कास्कीमा थप एक/एक जनाको मृत्यु भएको हो ।

ललितपुरस्थित पाटन अस्पतालमा काठमाडौं महानगरपालिका वडा नम्बर २१ जैसिदेवलकी ५० वर्षिया महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

दुई साताअघि अस्पताल भर्ना भएकी उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

त्यसैगरी वीरगन्जको नारायणी अस्पतालमा भर्ना भएकी वीरगञ्ज–१२ मुर्ली की ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।

योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ । श्वासप्रश्वासमा समस्या भएपछि हिजो दिउँसो उनी अस्पताल भर्ना भएकी थिइन् ।

न्यून रक्तचापको समस्याबाट पीडित ती महिलाको साँझ ७ बजे मृत्यु भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो ।

वीरगञ्जका दुई वटा कोभिड अस्पतालमा ३९ जना महिलासहित १ सय ३१ जना उपचाररत छन् । ३३ जना आईसियुमा छन् ।

मृत्यु भएका ४६ मध्ये ३४ जना पर्साका, १० जना बाराका र रौतहटका २ जना छन् ।

जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा भेटिएको वेवारिशे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।

यस्तै लुम्बिनी मेडिकल कलेज पाल्पामा तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको मृत्यु भएको हो ।

भदौ ५ गते अस्पताल भर्ना भएकी उनलाई ७ गते कोरोना पुष्टि भएको थियो । उनको हिजो साँझ मृत्यु भएको हो ।

यता कास्कीमा पनि थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका– १६ का ५२ वर्षीय पुरुष हुन् ।

उनको गएराति मृत्यु भएको चिकित्सकहरुले जनाएका छन् । योसँगै पोखरा प्रतिष्ठानमा मृत्यु हुने संक्रमितको संख्या ६ पुगेको छ ।