
काठमाडौं । कोरोना संक्रमणका कारण देशका विभिन्न अस्पतालमा थप आठ जनाको मृत्यु भएको छ ।
वीरगञ्जमा तीन र ललितपुरमा दुई जनाको मृत्यु भएको हो । त्यसैगरी पाल्पा र कास्की र सुनसरीमा एक एक जनाको मृत्यु भएको छ ।
वीरगञ्जमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । वीरगञ्ज–१२ बस्ने ४३ वर्षीय र वीरगञ्ज–२६ मनियारीका ३७ वर्षीय पुरुषको मृत्यु भएको हो ।
यस्तै एक जनाको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
एक जनाको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर र एक जनाको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको नारायणी अस्पताललका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिनुभयो ।
यस्तै ललितपुरस्थित पाटन अस्पतालमा काठमाडौं महानगरपालिका वडा नम्बर २१ जैसिदेवलकी ५० वर्षिया महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
भक्तपुरकी ६२ वर्षीया महिलाको पनि उपचारकै क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर रवी शाक्यले जानकारी दिनुभयो ।
एक साताअघि अस्पताल भर्ना भएका दुवै जनालाई आइसीयुमा राखिएको थियो ।
लुम्बिनी मेडिकल कलेज पाल्पामा तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको मृत्यु भएको हो ।
भदौ ५ गते अस्पताल भर्ना भएकी उनलाई ७ गते कोरोना पुष्टि भएको थियो । उनको हिजो साँझ मृत्यु भएको हो ।
कास्कीमा पनि थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१६ का ५२ वर्षीय पुरुष हुन् ।
उनको गएराति मृत्यु भएको चिकित्सकहरुले जनाएका छन् । योसँगै पोखरा प्रतिष्ठानमा मृत्यु हुने संक्रमितको संख्या ६ पुगेको छ ।
सुनसरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जनाको मृत्यु भएको छ ।
सिरहाको भदैया गाउँपालिका ६ का ८४ वर्षिय पुरुषको मृत्यु भएको हो ।
मृगौलासम्बन्धी समस्याबाट पीडित पुरुषको उपचारका क्रममा भदौ ७ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्