१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बलात्कारको आरोपमा पुजारी पक्राउ


0
Shares

राँझा, भदौ १३ । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५, कम्दीस्थित हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारका मुजावीर (पुजारी) बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा लामो समयदेखि पूजापाठसँगै झारफुकसमेत गर्दै आएका पुजारी नजिर मोहम्मद साईले झारफुक गर्ने बहानामा दुई महिलालाई बलात्कार गरेको उजुरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काले जानकारी दिनुभयो ।

उहाँकाअनुसार यही भदौ १० गते राति नेपालगन्जबाट झारफुकका लागि हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा पुगेका ३० र २८ वर्षीया दुई महिलालाई रातको समयमा झारफुक गर्ने बाहानामा बोलाएर बलात्कार गरेको जाहेरीका आधारमा उनलाई यही भदौ ११ गते बेलुका पक्राउ गरिएको हो ।

पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कम्दीबाट खटिएको टोलीले ४० वर्षीय साईलाई पक्राउ गरेको थियो ।

अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

पक्राउ परेका मजारका मुजावीर ‘मुसे’ बाबाका नामले परिचित छन् ।

हिन्दु र मुस्लिम समुदायको आस्थाको धरोहरका रूपमा रहेको हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा वर्षेनि ठूलो मेला लाग्ने गर्दछ । रासस