१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पर्सामा २४ घन्टामा तीनजना कोरोना संक्रमितको मृत्यु


0
Shares

corona

पर्सा, भदौ १३ । विगत २४ घन्टाभित्र पर्सामा तीन कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचार गराउन विभिन्न अस्पताल पुगेका एक महिला र दुई पुरुषको उपचारकाक्रममा मृत्यु भएको हो ।

मृतक तीनैजना वीरगन्ज महानगरपालिका निवासी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा वडा नम्बर १२, मुर्ली निवासी ४८ वर्षीय पुरुष र ६५ वर्षीया महिला रहेका छन् भने वडा नम्बर २२, मनियारी निवासी ३७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

मुर्ली निवासी पुरुषको शुक्रबार राति ११ः५५ मा नारायणी अस्पतालको अस्थायी कोभिड उपचार केन्द्र वीरगन्ज हेल्थ केयरमा र महिलाको सोही दिन साँझ ६ः०० बजे नारायणी अस्पतालको आकस्मिककक्षमा उपचारकाक्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी आशमान तामाङले जानकारी दिनुभयो ।

उहाँले मनियारी निवासी युवालाई उपचारका लागि एम्बुलेन्सबाट काठमाडौं लैजानेक्रममा बाटोमै मृत्यु भएको बताउनुभयो ।

मृत्यु भएका तीनैजनाको यही भदौ १२ गते गरिएको ‘पीसीआर’ परीक्षण ‘पोजिटिभ’ आएको जिल्ला प्रशासन कर्यालयले जनाएको छ ।

मृतकमा उच्च ज्वरो, खोकी, छाती दुख्ने, श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

मृतकमध्ये मुर्ली निवासी ४८ वर्यीय पुरुष ‘एचआईभी पोजिटिभ’ रहेको प्रशासनले जनाएको छ ।

यससँगै पर्सामा कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

एक सुरक्षाकर्मीसहित ३१ नयाँ संक्रमित भेटिए
एक सुरक्षाकर्मीसहित पर्सामा शनिबार ३१ कोरोना संक्रमित भेटिएका छन् । जिल्लाको विभिन्न स्थानबाट संकलन गरिएको स्वाबको नमुनालाई नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा पाँच महिला र २६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार राति गरिएको पीसीआर परीक्षणको शनिबार दिउँसो आएको रिपोर्टमा सबैभन्दा बढी वीरगन्ज महानगरपालिकाका विभिन्न वडा निवासी १४, पर्साको पोखरिया नगरपालिकाको विभिन्न वडा निवासी १० जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिप्रकाले दिएको जानकारीअनुसार पटेर्वासुगौली गाउँपालिका निवासी दुई, कालिकामाई गाउँपालिका निवासी तीन र प्रसौनि निवासी एकजनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै पर्सामा संक्रमित हुनेको संख्या दुई हजार ९५ पुगेको छ । पर्साबाट एक हजार ६३२ पुरुष र ४६३ महिला हालसम्म संक्रमित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस