
काठमाडौं । कोरोना संक्रमणका कारण विभिन्न अस्पतालमा उपचार गराइरहेको थप पाँच जनाको मृत्यु भएको छ ।
आज ललितपुरमा तीन तथा वीरगञ्ज र सप्तरीमा एक एक जनाको मृत्यु भएको हो । ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका तीन जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ललितपुरस्थित पाटनका २९ वर्षीय युवक, भैरहवाकी ५७ वर्षीय पुरुष र जलेश्वरकी ६२ वर्षीया महिला रहेको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिनुभयो ।
उहाँले भैरहवाका पुरुषको हिजो साँझ र पाटनका युवकको राति १० बजे मृत्यु भएको बताउनुभयो । जलेश्वरकी महिलाको भने हिजो दिउँसो नै मृत्यु भएको थियो ।
रौतहटको राजपुर निवासी एक पुरुषको आज बिहान गण्डक अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिनुभयो ।
मधुमेह र निमोनियाबाट ग्रसित ती पुरुष शुक्रबार अस्पताल भर्ना भएका थिए । त्यसैगरी सप्तरीको राजविराज नगरपालिका वडा नम्बर–२ तेतरीगाछीकी ६५ वर्षीया महिलाको पनि कोरोनाकै कारण मृत्यु भएको छ ।
शुक्रबार गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी महिलालाई हिजो नै कोरोना पुष्टि भएको थियो ।
अस्पतालमा थप उपचार सम्भव नभएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्