१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नवजात शिशुलाई अब ‘भिटामिन के’


0
Shares

काठमाडौं, भदौ १५ । सरकारले पहिलोपटक नवजात शिशुलाई ‘भिटामिन के’ (के वान) दिने भएको छ ।

रगतको मात्रा बढाउनका लागि नवजात शिशुमा ‘भिटामिन के’ दिन थालिएको हो ।

जन्मेदेखि २८ दिनभित्रमा सुईको माध्यमबाट ‘भिटामिन के’ दिने गरिन्छ । ‘भिटामिन के’को नाम (के वान) राखिएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले रगतको मात्रा कमी हुन नदिनका लागि यस आर्थिक वर्षदेखि ‘भिटामिन के’ दिन थालिएको जानकारी दिनुभयो ।

दुई वर्षअघिदेखि कम तौल भएको शिशुलाईमात्र दिँदै आएको सो भिटामिन अब जन्मिने सबै शिशुलाई दिन थालिएको हो ।

साउनदेखि नै सुरु गर्ने भनिएको कोभिड-१९ को कारणले ‘भिटामिन के’ कार्यक्रम लागू गर्न नसकिएको उहाँले बताउनुभयो ।

उहाँले शिशुमा रगत जमाउने तत्व कम हुने र यसले गर्दा रक्तस्राव भइ शिशुको मृत्युदर पनि बढ्ने भएकाले रगत जमाउने तत्वको काम गर्न ‘भिटामिन के’ दिन थालिएको बताउनुभयो ।

जन्मिनासाथ आमाको दूध चुसोपछि सुईमार्फत् शिशुलाई ‘भिटामिन के’ दिनुपर्दछ ।

नवजात शिशुमा ‘भिटामिन के’को मात्रा कमी हुन्छ र सोही कारणले बच्चामा कुनै चोटपटक लागेमा रक्तस्राव बढी भइ मृत्युसमेत हुने गर्छ ।

‘भिटामिन के वान’ मानिसमा दुई प्रकारले, खानाको मध्यम तथा आान्द्राभित्र रहेका ब्याक्टेरियाबाट प्राप्त हुन्छ ।

‘नवजात शिशुले खाने खाना आमाको दूधबाट प्राप्त हुने ‘भिटामिन के’ रक्तस्राव रोक्न पर्याप्त हुँदैन भने नवजात शिशुमा आन्द्राभित्र रहेका ब्याक्टेरिया पनि सक्रियरुपमा नहुने हुँदा शिशुमा ‘भिटामिन के’को कमी हुन्छ’-उहाँले भन्नुभयो-‘सो अवस्थामा ‘भिटामिन के’मा निर्भर भइ रगत जम्न सहयोग गर्ने तत्वको पनि कमी भइ शरीरमा कुनै कारणले चोटपटक हुन गएमा रक्तस्राव भइरहने हुनसक्छ । रक्तस्राव रोक्न ‘भिटामिन के’ दिन थालिएको हो ।’

उहाँकाअनुसार यसै आवदेखि छ लाख २० हजार नवजात शिशुका लागि ‘भिटामिन के’ दिइनेछ ।

अन्तर्राष्ट्रिय तथ्यांकमा जन्मेको पहिलो हप्तामा ६० देखि २५० नवजात शिशुमध्ये एकजनामा रक्तस्राव र जन्मेको दुईदेखि १२ हप्तामा १४ हजारदेखि २५ हजार नवजात शिशुमध्ये एकजनामा रक्तस्राव हुने गरेको देखिएको छ ।

रक्तस्रावबाट शिशुहरुको मृत्युसमेत हुने गरेको हुँदा रक्तस्राव समस्याको न्यूनीकरण गरी शिशुको स्वास्थ्य रक्षा गर्न आवश्यक देखिएकाले निःशुल्करुपमा ‘भिटामिन के’ दिन थालिएको हो ।

उहाँकाअनुसार आमा सुरक्षा कार्यक्रमअन्तर्गत रहेर ‘भिटामिन के’ कार्यक्रम सञ्चालन गर्न थालिएको हो ।

शिशुको जन्म तौल एक किलोभन्दा माथि भए एक मिलिग्राम र एक किलोभन्दा कम छ भने ०.५ मिलिग्राम दिइनेछ ।

‘भिटामिन के’ दिनका लागि सबै प्रदेशले बजेट र निर्देशिका पठाइसकेको खोप शाखा प्रमुख डा. गौतमले जानकारी दिनुभयो ।

प्रदेश नम्बर-१ ले रु ३८ लाख ५४ हजार, प्रदेश नम्बर-२ ले रु ४२ लाख ६६ हजार, वाग्मतीले रु ५४ लाख ८३ हजार, गण्डकीले रु ३१ लाख ६४ हजार, कर्णालीले रु २७ लाख ७७ हजार र सुदूरपश्चिम प्रदेशले रु ३८ लाख ३० हजार बजेट ‘भिटामिन के’का लागि विनियोजन गरेका छन् ।

विनियोजन बजेटबाट ‘भिटामिन के’ र एक एमएल बराबरको सुई खरिद गर्नेछन् । रासस