१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सेती अस्पतालमा कोरोना संक्रमितको अब प्लाज्मा थेरापीबाट उपचार


0
Shares

corona

बिराज रोस्यारा (इमेज)

कैलाली, भदौ १५ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार थालिने भएको छ ।

राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले तय गरेको मापदन्डअनुसार प्लाज्मा थेरापी विधिबाट अनुसन्धानात्मक उपचार सुरु गरिने भएको हो ।

कोरोनाभाइरसका गम्भीर बिरामी देखिए उक्त विधिबाट उपचार गरिने सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गम्भीर किसिमको कोरोना संक्रमण देखिए प्लाज्मा थेरापी विधिबाट उपचार गर्नका लागि सेती अस्पताल तयार भएको भन्दै उहाँले त्यसका लागि कोरोना लागेर निको भएका बिरामीले रगत दिनुपर्ने बताउनुभयो ।

उहाँले संक्रमणमुक्त भएकालाई रक्तदानका लागि आग्रह गरेकोसमेत बताउनुभयो ।

प्लाज्मा थेरापी गर्न कोरोना संक्रमणबाट निको भएका व्यक्तिको रगत आवश्यक पर्दछ ।

कोरोना निको भएका व्यक्तिको शरीरमा भाइरससँग लड्न ‘एन्टिबडी’ उत्पादन भएको हुनाले प्लाज्मा छुट्ट्याएर संक्रमित बिरामीलाई प्लाज्मा चढाउने गरिएको छ ।

संक्रमित भएर निको भएका व्यक्तिको शरीरमा बनेको एन्टिबडी संक्रमित व्यक्तिलाई प्लाज्मा चढाउँदा कोरोनाभाइरसलाई मार्ने र संक्रमित व्यक्ति निको हुने सम्भावना रहने चिकित्सकहरुले बताएका छन् ।

कोरोनालाई जितेर घर फर्किएकालाई आफ्नो प्लाज्मा दान गर्न सेती अस्पतालले आग्रह गरेको छ ।

कोरोना संक्रमित, जसको रोगप्रतिरोधात्मक क्षमता कम छ, त्यस्ता बिरामीलाई प्लाज्मा थेरापी गर्दा निको पार्न सहज हुने दाबी गरिएको छ ।