
काठमाडौं, भदौ १७ । सरकारले कोरोनाभाइरसको संक्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी संक्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड–१९ को संक्रमणलाई रोक्नका लागि ५०० भन्दा बढी संक्रमित भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी संक्रमण भएका जिल्लामा बन्दाबन्दी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको बताउनुभयो ।
५०० भन्दा बढी संक्रमित भएका जिल्ला १२ ओटा रहेका छन् । मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौं, ललितपुर र रुपन्दही रहेका छन् ।
अक्सफोर्ड पोलेसि म्यानेजमेन्टले गरेको नेपालमा कोभिड–१९ को संक्रमितको सर्वेक्षणमा भ्रममा नपर्ने मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो ।
उहाँले मन्त्रालयले आफैं नेपालमा कति संक्रमित हुन सक्छन् भनेर अनुमान गर्नका लागि प्रक्षेपण गरिरहेकोसमेत जानकारी दिनुभयो ।
उहाँले कोभिड–१९ को खोप विश्वमा बनेर परीक्षणको क्रममा रहेको भन्दै खोपको सफल परीक्षणपश्चात् नेपालमा समेत ल्याइने जानकारी दिनुभयो ।
यस्तै, मन्त्रालयले सोह्रश्राद्ध ‘भर्चुअल’ विधिबाट गर्नसमेत आग्रह गरेको छ ।
कोरोनाभाइरसको संक्रमण विगत २४ घन्टामा एक हजार १२० जनामा देखिएको छ । अहिलेसम्म नेपालमा ४१ हजार ६४९ जना कोभिड–१९ को संक्रमण देखिएको छ ।
बुधबार एक हजार ११२ जना निको भएका छन् । अहिलेसम्म २३ हजार २९० जना निको भएर घर फर्किएका छन् । यो ५६ प्रतिशत हो । रासस
प्रतिक्रिया दिनुहोस्