
भक्तपुर, भदौ १७ । कोरोना संक्रमणबाट ६२ वर्षीया आमाको मृत्यु भएको चार दिनमा ४० वर्षीय छोराको पनि मृत्यु भएपछि मध्यपुरथिमि नगरपालिका–७, नगदेश निवासी संक्रमित परिवारका अन्य छजना निकै विचलित भएका छन् ।
यही भदौ १३ गते संक्रमित आमाको उपचारकाक्रममा पाटन अस्पतालमा मृत्यु भएको र सोही अस्पतालमै भेन्टिलेटरमा उपचारकाक्रममा संक्रमित छोराको मंगलबार राति मृत्यु भएको हो । छोराबाट आमामा संक्रमण भएको आशंका गरिएको छ ।
श्वासप्रश्वासमा समस्या आएको आमाको परीक्षणमा कोरोना पुष्टि भएपछि परिवारका अन्य सदस्यको पनि ‘पीसीआर’ परीक्षण गर्दा परिवारका सबैमा संक्रमण भएको पाइएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
भदौ १ गते आमालाई पाटन अस्पताल भर्ना गरिएको र श्वासप्रश्वासमा समस्या आएपछि ३ गते छोरालाई पनि पाटन अस्पताल नै लगिएकामा आमाको उपचारकाक्रममा १३ गते र छोराको उपचारकाक्रममा १६ गते राति मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
आमालाई दमको रोग र छोराले उच्च रक्तचापको औषधि सेवन गरिरहेका परिवार स्रोतले जानकारी दिएको छ ।
मृतकका करिब ७० वर्षीय बाबु, गर्भवती श्रीमती, एक बहिनी, एक छोरा, एक छोरी र घरका अन्य एक सदस्यलाई पनि संक्रमण पुष्टि भएपछि सबै ‘होम आइसोलेसन’मै बसेका छन् ।
नगरप्रमुख श्रेष्ठले भन्नुभयो-‘आज स्वास्थ्य टोली लिएर म घरमै गएँ । मृतकका वृद्ध बुवा र गर्भवती श्रीमतीको स्वास्थ्यमा ध्यान दिनु जरुरी छ । हामीले सान्त्वना दिएर आएका छौं । बिहीबार केही महिनालाई पुग्ने खाद्यान्न राहत दिन्छौं र विचलित त्यो परिवारको अवस्था निकै हृदयविदारक छ ।’
संक्रमित परिवारको घर आसपास क्षेत्रमा भाइरस डिसइन्फेक्सन गरेको, परिवारलाई स्यानिटाइजर पठाएको बताउँदै त्यो परिवारलाई मनोपरामर्श र अन्य सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो ।
भक्तपुर जिल्लामा एकै परिवारका दुईजनाको ज्यान गएको यो पहिलो घटना हो भने अहिलेसम्म संक्रमणबाट नौजनाको मृत्यु भएको छ । रासस
प्रतिक्रिया दिनुहोस्