
प्रज्ञा तिमल्सिना (इमेज)
काठमाडौं, भदौ १८ । नेपालमा कोरोना संक्रमण देखिएको आठ महिनाको अवधिमा ४२ हजार बढी व्यक्ति संक्रमित भएका छन् ।
चैत महिनादेखि बढ्दै आएको संक्रमणका कारण हाल १२ जिल्ला ‘हटस्पट’ बनेका छन् । संक्रमण समुदायस्तरमा गएपछि स्थिति भयावह बन्दै छ ।
हाल चार जिल्लामा एक हजारमाथि संक्रमित छन् भने प्रदेश नम्बर-२ र वाग्मती प्रदेशमा बढी संक्रमित भेटिएका छन् ।
सुरुका दिनमा एकजनामा देखिएको संक्रमण भदौ महिनायता दैनिक एक हजारमाथि छ ।
संक्रमणका कारण १२ जिल्ला बढी प्रभावित बनेका छन् भने सोलुखुम्बु, हुम्ला, ताप्लेजुङ, भोजपुर, मुगु, डोल्पा र मुस्ताङ गरी सात जिल्लाबाहेक हाल सबै जिल्लामा संक्रमण देखिएको छ ।
प्रदेश नम्बर-१ का तीन जिल्ला बढी प्रभावित छन् । जसमा मोरङमा एक हजारमाथि संक्रमित छन् भने सुनसरी र झापामा ५०० माथि संक्रमित छन् । बाँकी ११ जिल्लामा १०० तल संक्रमित रहेका छन् भने सोलुखुम्बु र भोजपुरमा कम संक्रमित रहेका छन् ।
उता, प्रदेश नम्बर-२ का आठओटै जिल्लामा ५०० माथि संक्रमित छन् । पर्सामा दुई हजारमाथि संक्रमित रहेका छन् भने रौतहट, सर्लाही, महोत्तरी र धनुषामा भने एक हजारमाथि संक्रमित छन् ।
यस्तै, वाग्मती प्रदेशमा पनि चितवन, भक्तपुर, ललितपुर र मकवानपुरमा ५०० माथि संक्रमित छन् । काठमाडौंमा भने पाँच हजारमाथि संक्रमित छन् ।
नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र सिन्धुपाल्चोकमा १०० हाराहारीमा संक्रमित रहेका छन् भने धादिङमा २०० माथि संक्रमित छन् । रसुवामा सबैभन्दा कम संक्रमित छन् ।
गण्डकी प्रदेशमा भने नवलपरासी पूर्वमा मात्र ५०० माथि संक्रमित छन् । बागलुङ, कास्की, तनहुँ, लमजुङ र स्याङ्जामा ५०० भन्दा कम व्यक्तिमा संक्रमण देखिएको छ । यस्तै, गोरखा र पर्वतमा भने १०० जनाभन्दा माथिमा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशमा हालसम्म मुस्ताङमा एक र मनाङमा तीनजनामा मात्र संक्रमण देखिएको छ । म्याग्दीमा ५० माथि संक्रमित रहेका छन् ।
यता, प्रदेश नम्बर-५ मा पनि कपिलवस्तु, रुपन्देही र बाँकेमा एक हजारमाथि संक्रमण देखिसकेको छ । दाङ, बर्दिया, नवलपरासी पश्चिम, अर्घाखाँची, प्यूठान, पाल्पा, गुल्मीमा ५०० माथि संक्रमण पुष्टि भएको छ । रोल्पामा १०० भन्दा कम संक्रमित छन् भने रुकुम पश्चिममा सबैभन्दा कम व्यक्तिमा संक्रमण देखिएको छ ।
कर्णाली प्रदेशको दैलेखमा एक हजार बढी व्यक्तिमा संक्रमण देखिएको छ भने सुर्खेतमा ५०० माथि संक्रमित छन् । हुम्ला, मुगु र डोल्पामा कम संक्रमित रहेका छन् ।
यस्तै, सुदूरपश्चिम प्रदेशको कैलालीमा एक हजारमाथि संक्रमित रहेका छन् भने अछाम, डोटी, कञ्चनपुर र बाजुरामा ५०० माथिमा संक्रमण देखिसकेको छ । बैतडी, डडेल्धुरा र बझाङमा पनि ५०० हाराहारी संक्रमित रहेका छन् । सुदूरपश्चिम प्रदेशमा दार्चुलामा भने संक्रमित कम रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्