
जितेन्द्र भण्डारी/ इमेज
पाँचथर । हिलिहाङ गाउँपालिकामा रहेको मृदुङ्गा झरनामा अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।
मध्यपहाडी लोकमार्गको पहुँच र तमोर कोरिडोर सडकले जोडिएपछि यहाँ आन्तरिक पर्यटकको भीड लाग्न थालेको हो ।
मृदुङ्गा झरना पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ३ र ४ को सीमानामा रहेको छ । ठूल्ठुला चट्टानका बीचबाट झरेको झरना निकै आकर्षक र सुन्दर देखिनाले पर्यटकको आकर्षण बढेको हो ।
मेची राजमार्गबाट हिलिहाङ–१ भालुचोक र फेदापाबाट करीब एक घण्टा यात्रा गरेपछि यो झरनासम्म पुग्न सकिन्छ ।
झरना अत्यन्तै सुन्दर रहेको हुँदा आफूहरु फिदिमबाट आएको इन्द्र लुईटेल बताउनुहुन्छ । सबै प्रकारका सवारीका साधन यहाँसम्म पुग्न सक्ने भएकाले आन्तरिक पर्यटकहरुको चाप दिनदिनै बढिरहेको स्थानीय बताउँछन् ।
सडक पुगेपछि झरनामा फोटो खिँच्ने र सामाजिक सञ्जालमा राख्ने रहरले पनि झरना प्रचारमा आएको छ ।
बाटोको सुगमता कै कारण ओझेलमा रहेको झरना पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ । झरना हेर्न पाँचथरसहित विभिन्न जिल्लाका मानिसहरुको भीडभाड हुने गरेको छ ।
सडकले विकास र समृद्धिका अन्य आयामहरु समेत खोल्दछ भन्ने बलियो उदाहरण बनेको छ मृदुङ्गा झरना ।
अहिले दैनिक २ सय ५० जनाभन्दा बढी पर्यटक आउने गरेको स्थानीय बताउँछन् । झरनाको दुई सय मिटर नजिकबाट तमोर कोरिडोर सडक विस्तार भएको छ ।
झरनालाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउन चालु आर्थिक वर्ष २०७७-०७८ मा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न लागिएको हिलिहाङ गाउँपालिका– ४ वडाध्यक्ष श्रीप्रसाद शिगू बताउनुहुन्छ ।
प्रतिवेदनका आधारमा झरनालाई प्राकृतिक रुपमै सुन्दर बनाउने प्रयास गरिने उहाँको भनाइ छ ।
सडक छेउ सवारी पार्किङ स्थल, सिंढी मार्ग, स्वीमिङ पुललगायतका संरचना अत्यावश्यक भएकाले ती संरचना निर्माणका कार्यसमेत थालिने वडाध्यक्ष शिगू वताउनुहुन्छ ।
फिदिम र ताप्लेजुङबाट मृदुङ्गा झरना पुग्न लामो समय नलाग्ने हुनाले स्थानीय पर्यटकहरुको चाप बढ्दै गएको हो ।
हिलिहाङ गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा झरनालाई पर्यटकीय हव तथा मनोरञ्जन स्थलको रुपमा परिणत गर्न गुरु योजना निर्माण गर्ने उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्