१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सन्दीप आबद्ध जमैका सेमिफाइनलमा


0
Shares

काठमाडौं, भदौ १९ । नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-२० क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

शुक्रबार बिहान सम्पन्न खेलमा गुयाना अमेजन वारियर्सले बारबाडोस ट्रिडेन्ट्सलाई ६ विकेटले पराजित गरेपछि जमैका आफ्नो खेल्न दुई खेलअगावै सेमिफाइनल पुग्न सफल भएको हो ।

यसअघि, सन्दीपको टोली जमैकाको बिहीबार राति सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्ससितको खेल भने वर्षाका कारण रद्द भएको थियो ।

उक्त खेलमा दुवै टोली एकएक अंक बाँड्न बाध्य भए । तीन अंकमा सीमित सेन्ट किट्स प्रतियोगिताबाट बाहिरिएको छ । उसले हालसम्म नौ खेलमा एकमा जित तथा आठमा पराजय भोगेको छ ।

जमैका हालसम्म आठ खेलमा तीनमा जितका साथ सात अंकसहित चौथो स्थानमा छ ।

लिगमा शतप्रतिशत नतिजा निकाल्न सफल ट्रिनबागो नाइट राइडर्स १६ अंक बनाउँदै यसअघि नै सेमिफाइनल पुगिसकेको छ । उसले दुई खेल खेल्न अझै बाँकी छ ।

लिगमा सबै खेल खेलिसकेको गुयाना अमेजन वारियर्स हालसम्म १० खेलमा छमा जितका साथ १२ अंक बनाएर अन्तिम चारमा स्थान बनाउन सफल भएको छ ।

यस्तै, सेन्ट लुसिया जुक्स पनि सेमिफाइनलमा पुगिसकेको छ । उसले हालसम्म आठ खेलमा पाँचमा जित निकाल्दै १० अंक जोडेको छ ।

साविक विजेता बारबाडोस ट्रिडेन्ट्स भने नौ खेलमध्ये दुईमा मात्र विजयी भइ चार अंकका साथ प्रतियोगिताबाट बाहिरिएको छ । रासस