१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एक महिनाभित्र काठमाडौंमा कोरोना संक्रमण नियन्त्रण बाहिर जानसक्ने चेतावनी


13
Shares

काठमाडौं, भदौ १९ । कोभिड-१९ संक्रमण नियन्त्रणमा प्रभावकारी काम हुन नसके एक महिनाभित्र काठमाडौं उपत्यकाको स्थिति नियन्त्रण बाहिर जानसक्ने स्वास्थ्य विज्ञहरुले बताएका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड-१९ को सम्बन्धमा सरकारले गरेका काम कारबाहीको अनुगमन गर्न गठित उपसमितिको शुक्रबारको बैठकमा उपस्थित विज्ञहरुले स्वास्थ्यकर्मीले अहिलेकै स्थितिमा काम गर्नुपरे एक महिनाभित्रमा काठमाडौं उपत्यकामा कोभिड संक्रमण नियन्त्रण बाहिर जानसक्ने बताएका हुन् ।

जनस्वास्थ्यविज्ञ डा. महेश मास्केले चिकित्सक र नर्सहरुको जायज मागहरु पूरा गरी उत्प्रेरित गर्नुपर्नेमा सरकारले न्यूनतम् स्वास्थ्य सामग्रीसमेत उपलब्ध नगरेर हेलचेक्र्याइँ गरिरहेको बताउनुभयो ।

न्यूनतम् स्वास्थ्य सामग्री उपलब्ध गराउन नसक्ने सरकारले कोभिड नियन्त्रणमा छ भनेर कसरी भन्न सक्यो ? भन्दै उहाँले प्रश्नसमेत गर्नुभयो ।

उहाँले यही गतिमा काम भइराख्ने हो भने अबको एक महिनाभित्रमा काठमाडौं उपात्यकाको स्वास्थ्यस्थिति नियन्त्रणभन्दा बाहिर जाने बताउनुभयो ।

जनस्वास्थ्यविज्ञ प्रा. डा. सुजनबाबु मरहठ्ठाले स्वास्थ्य निकाय र स्वास्थ्यकर्मीलाई कसरी सुरक्षित राख्ने र मनोबल कसरी बढाउने भन्ने पक्षमा व्यवस्थापन गर्न नसके भयाभह स्थिति आउनसक्ने बताउनुभयो ।

समुदायस्तरमा संक्रमण रोक्न नसकेको अवस्थामा अस्पतालमा कार्यरत् स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण फैलने स्थिति आए संकट आउनसक्ने उहाँले बताउनुभयो ।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले स्वास्थ्य संस्थाहरुमा नै कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि तयार भएको आधारभूत मापदण्डको पालना नभएको बताउनुभयो ।

कतिपय अस्पतालमा बिरामी आउँदैनन् भन्दै ‘पीसीआर’ परीक्षण नै नगरेको पनि उहाँले बताउनुभयो ।

यसबाहेक मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, दुरी कायम गर्ने, पीपीईको प्रयोग राम्रोसँग गर्नेलगायतका काम अझैपनि हुन नसकेको उहाँले बताउनुभयो ।

आयुर्वेदिक तथा वैकल्पिक चिकित्साका महानिर्देशक डा. वासुदेव उपाध्यायले कोभिडबाट त्रसित भइ घरमा बस्ने र जडीबुटी खाएका नेपाली भन्दै बाहिर निस्कने प्रवृत्तिले समस्या आएको बताउनुभयो ।

उहाँले परम्परागतरुपमा ‘एन्टीभाइरल’ औषधिको रुपमा प्रयोग हुँदै आएका जडीबुटी सम्बन्धमा अनुसन्धान हुनुपर्ने बताउनुभयो ।