
काठमाडौं, भदौ १९ । प्रशिक्षणको अभावमा भलिबल खेलले गति लिन नसकेको खेलाडीहरुको गुनासो बढेसँगै नेपाल भलिबल संघले अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन जग्गा खोजिरहेको जनाएको छ ।
तीन वर्षअघि नेपाल सरकारले भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता दिएपनि खेलाडीलाई प्रशिक्षण गर्न पूर्वाधारको अभाव भएको हो ।
पूर्वाधार निर्माणका लागि सरकारी पहल शून्य भएकाले भलिबल खेलले सोचेअनुरुपको नतिजा दिन नसकेको सरोकारवालाहरु बताउँछन् ।
भलिबल खेलको विकासका लािग अन्तर्राष्ट्रियस्तरको आफ्नै सुविधासम्पन्न खेलमैदान आवश्यक भएपनि मैदान निर्माणका लागि जग्गा पाउन नसकेको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दको गुनासो छ ।
भलिबल खेलमा नेपालको सम्भावना उच्च देखिन्छ । नेपाली महिला टोलीले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा रजतपदक जितेसँगै त्यो प्रमाणित भएको छ । पुरुष खेलाडीहरुको प्रदर्शन भने प्रतियोगितामा सम्झनलायक बन्न सकेन ।
महासचिव चन्द जग्गा उपलब्ध भएपश्चात् अन्तर्राष्ट्रियस्तरको कोर्ट बनाएर खेलको स्तर सुधार्ने दाबी गर्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्