१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपालबाट प्राप्त मुनाफा नेपालकै आर्थिक समृद्धिमा लगानी गर्ने सगुनद्वारा स्पष्ट


0
Shares

काठमाडौं । अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी, सगुनले कुनै पनि माध्यमबाट नेपाली पूंजी स्वदेश बाहिर नलैजाने स्पष्ट पारेको छ ।

सगुनले आइतबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनका क्रममा संस्थापक गोविन्द गिरीले सगुनप्रति न बुझेर शुरुमा केहि भ्रमहरु रहे पनि अहिले त्यो स्पष्ट भै सकेको बताए।

“हामीलाई आफ्नै भूमिमा एउटा प्लेटफर्म मात्रै चाहिएको हो, हामीले नेपालीबाट प्राप्त गरेको मुनाफा नेपालकै आर्थिक समृद्धि र विकासका लागि प्रयोग गर्ने छौं। यसमा ढुक्क हुनुस्, नेपालबाट कमाएको सबै पैसा हामी नेपालमै रोजगारी र आर्थिक विकासका लागि प्रयोग गर्छौ“,” उनले भने।

लगानी गर्न आह्वान

पत्रकार सम्मेलनमा सगुनले विश्वभरका लगानीकर्ताहरुका लागि मिनी आइपीओमार्फत लगानी गर्न पुनः आह्वान गरेको छ ।

कानूनी मान्यताअनुसार लगानीकर्तामाझ आएको सगुनले आगामी जनवरीबाटै सेकेण्डरी आइपीओमा जाने लक्ष्य राखेको संस्थापक गिरीले बताए ।

सगुनले साना लगानीकर्ता प्रोत्साहन गर्नका लागि कम आम्दानी भएकाहरुलाई समेत लगानीको वातावरण जुटाएको जनाएको छ ।

फेसबुक, ट्वीटरजस्ता ठूला कम्पनी जुन नेपालीको पहुंचमा छैनन्, तिनमा सर्वसाधारणको लगानीका लागि कुनै प्लेटफर्म नभए पनि सगुनले भने सर्वसाधारणका लागि लगानीको वातावरण बनाएको भन्दै गिरीले नेपाली डायस्पोराका लागि यो लगानीको उत्तम अवसर भएको बताए ।

उनले भने, “सन् २०१५ बाट सुरु भएको हाम्रो एप आज विश्वका लाखौं मानिसको हातहातमा पुगेको छ, हिजोका दिनमा सर्वसाधारणको पहुंचमा नभएका अन्तर्राष्ट्रिय प्लेटफर्म आज लगानीकर्ताहरुका लागि सुनौलो अवसर बनेको छ ।”

सेप्टेम्बर महिनाभर लगानीको अवसर

सगुनले “ग” श्रेणीको साधारण शेयर मिनि (आइपिओ) प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्वसाधारणलाई बिक्रि गरिरहेको छ ।

आगामी सेप्टेम्बर ३० तारिख सम्म नेपाल, इरान र उत्तर कोरिया बाहेकका लगानीकर्ताले आइपिओ खरिद गर्न पाउनेछन् ।

कम्तिमा ३० कित्ता शेयर नौ सय डलरमा खरिद गर्न सकिने प्रावधान रहेको छ ।

सन् २०२१ को शुरुमा सेकेण्डरी आइपिओमा जाने रणनीति रहेकोले पनि मिनि आइपिओमार्फत लगानीको अवसर यही नै अन्तिम पटक हुने सगुनका सहसंस्थापक कविन सिटौलाले जनाए।

सगुनको शेयर खरिद गर्न इच्छुक व्यक्तिले www.sagoon.com/invest मा गएर वा सगुन एपमा रहेको मिनि आइपिओ ट्याब छनोट गरी लगानीका लागि आवेदन दिन सक्नेछन् ।

अहिले संसारभरि सगुनका प्रयोगकर्ताहरु ८१ लाख बढी रहेको सो कम्पनीले जनाएको छ । सगुनका प्रयोगकर्ता विशेषगरी अमेरिका, नेपाल र भारतसहित दक्षिण एसियाली मुलुकमा बढीरहेका छन् ।

नेपालमा प्रभु ग्रुप, भाटभटेनी, फेवा बजारसँग सगुनको सम्झौता भइसकेको जानकारी गराउंदै गिरीले अन्तर्राष्ट्रिय कारोबार सहज बनाउन नविल बैंकसँग छिट्टै सहकार्य गर्न लागेको सगुनले जनाएको छ । नेपालमा सबैभन्दा धेरै डाउनलोड हुने एपमा सगुन ५ औ स्थानमा छ ।

सगुनका ग्लोबल कोर्डिनेटर सूर्य गुरुङले लगानी गर्नासाथ प्रतिफल खोज्ने सोच होइन, भविष्यको लागि र सगुनको भिजनमा साथ दिने र विश्वास गर्ने सबै धन्यवादका पात्र भएको बताए ।

उनले सगुनको यात्रा धेरै अघि बढेको र यो यात्रामा कोही प्रवासी नेपाली पनि छुट्नुहुन्न भन्दै उनले विश्वभरका नेपालीसहित अन्य लगाीकर्तालाई समेत जोड्दै जाने बताए।

पत्रकार सम्मेलनमा नेपाल र नेपाल बाहिरका गरी ७० भन्दा बढी पत्रकार र सरोकारवाला सहभागी थिए ।

यस्तै सगुनका तर्फबाट संस्थापक गोविन्द गिरि, सह संस्थापक कविन सिटौला, सह संस्थापक स्वाति दयाल, ग्लोबल कोअर्डीनेटर सूर्य गुरुङ, नेपाल कन्ट्री म्यानेजर आनन्द बज्राचार्य, खेमराज पगेनी, चिंता बजागाई, कृष्ण गैरे, भवानी कोइराल, सत्तम लामा, युवराज सेढाईं, सुरेन उप्रेती, यम घिमिरे, फणिन्द्र ढकाल, डा. शशि सिग्देल, ध्रुब शर्मा लगायतको सहभागिता थियो ।