९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


रुसी खोपको प्रारम्भिक विवरण सार्वजनिक तर विश्वसनीयतामा शंका


0
Shares

काठमाडौं । रुसी खोपको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ ।

नयाँ कोरोनाभाइरसको खोप निर्माण गरिसकेको दाबी गरेको रसियाले खोपसम्बन्धी विवरण हालै प्रकाशन गरेको हो ।

रुसी वैज्ञानिकहरुले ‘स्पुटनिक भी’ नामको नयाँ खोपको प्रारम्भिक चरणका परीक्षणको विवरण सार्वजनिक गरेका हुन ।

रुस सरकारले यो खोपलाई गत अगष्ट ११ मै स्वीकृति दिइसकेको छ । नयाँ खोपसम्बन्धी विवरण सार्वजनिक भएलगत्तै उक्त खोपका बारेमा विज्ञहरुले विभिन्न प्रतिक्रिया दिएका छन् ।

उनीहरुको भनाईमा केही दर्जन व्यक्तिलाई मात्र खोप दिइएकाले यसको विश्वसनीयता शंकाको घेरामा रहेको छ ।

गत शुक्रबार बेलायती मेडिकल जर्नल दी ल्यान्सेटमा प्रकाशित रिपोर्टमा खोप दिइएका ४० जनामा एन्टीबडी निर्माण भएको र तीन साताभित्र पुनः परीक्षण गर्न उनीहरुमा कोरोनाभाइरस नदेखिएको उल्लेख छ ।

तर लेखकहरुका अनुसार खोप दिइएका व्यक्तिलाई ४२ दिनसम्म मात्र अनुगमन गरिएको थियो ।

अध्ययनमा समेटिएको संख्या ज्यादै सानो भएको र नियन्त्रण खोप (कन्ट्रोल भ्याक्सिन) नदिइएको पनि रिपोर्टमा उल्लेख छ ।

यस अध्ययनमा सहभागीहरु सबै पुरुष रहेका र उनीहरु २० र ३० वर्षको हाराहारीका व्यक्ति थिए ।

त्यसैले कोरानाबाट सबैभन्दा बढी जोखिममा रहेका बयस्क वा वृद्ध व्यक्तिहरुलाई यो खोपले काम गर्छ भन्नेमा प्रशस्त आशंका रहेको छ ।

अन्तर्राष्ट्रिय विज्ञहरु भने यस खोपको प्रभावकारीता र सुरक्षामाथि निकै सचेत देखिएका छन् ।

तैपनि, खोप निर्माता रुसी अधिकारीहरु भने खोपले देखाएको प्रभावकारिताबाट निकै खुशी देखिएका छन् ।(एजेन्सी)