१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना संक्रमणबाट बाँके र मोरङमा एक/एक जना पुरुषको मृत्यु


0
Shares

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

पछिल्लो पटक कोरोना संक्रमणका कारण बाँके र मोरङमा एक/एक जना पुरुषको मृत्यु भएको हो ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय युवराजविक्रम घलेको मृत्यु भएको हो ।

उपमहानगरपालिकामा स्टोरकिपरमा कार्यरत मृतक घलेलाई तीन वर्षदेखि मधुमेह र पाँच वर्षदेखि मुटुरोगको समस्या रहेको जनाइएको छ ।

यही भदौ १२ गते घलेको स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्ट कोरोना जाँचका लागि स्वाब लिइएको थियो ।

भदौ १५ गते पिसीआर रिपोर्ट पोजिटिभ देखिएपछि घले आफैँले पैसा तिर्ने गरी बनाइएको इन्द्रेणी होटलको आइसोलेसन सेन्टरमा बसेका थिए ।

उनको भदौ १८ गतेदेखि मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

बस्नेतका अनुसार भदौ ११ गने संक्रमण पुष्टि भएका उनी १० दिन ‘होम आइसोलेशन’ मा बसेका थिए ।

उच्च रक्तचापको समस्या र श्वासप्रश्वासमा कठिनाई भएपछि उनी उपचारका लागि शनिबार केन्द्रमा भर्ना भएका थिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ९१ पुगेकोे छ ।