९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


विदेशी च्यानलहरु २४ घन्टालाई बन्द


0
Shares

काठमाडौं, असार ९ । प्रस्तावित विज्ञापन ऐन २०७६ प्रति असहमति जनाउँदै टेलिभिजन सेवा प्रदायकहरुले विज्ञापन प्रसारण हुने विदेशी च्यानलहरु २४ घन्टाका लागि बन्द गरेका छन् ।

सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मका लागि विज्ञापन प्रसारण हुने विदेशी च्यानलहरुको प्रसारण बन्द गरिएको हो ।

इन्टरनेट तथा डिजिटल टीभी समन्वय समिति र नेपाल केबल टेलिभिजन महासंघले संयुक्तरुपमा विदेशी च्यानलहरु बन्द गराएका हुन् ।

विज्ञापन नभएका विदेशी च्यानलको भने प्रसारण नरोकिएको महासंघले जनाएको छ ।

संसदमा पुगेको ‘प्रस्तावित विज्ञापन ऐन, २०७६’ मा विज्ञापनसहित आउने विदेशी च्यानलहरु नेपालमा प्रसारण गर्न नपाउने उल्लेख छ ।

उक्त व्यवस्था लागू गर्दा उत्पन्न हुने परिस्थितिको जानकारी गराउन भन्दै सेवा प्रदायकहरुले च्यानलहरु बन्द गराएका हुन् ।

नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुमध्ये अधिकांशमा विज्ञापन रहेको छ ।

कुनैपनि विदेशी च्यानलले नेपालमा प्रसारणका लागि विज्ञापनरहित लिंक उपलब्ध गराउनुपर्ने भएकाले विज्ञापनरहित प्रसारण व्यावहारिकरुपमा लागू गर्न अप्ठ्यारो हुने जनाइएको छ ।

भारतीय ब्रोडकास्टर फोरमले यसअघि नै विज्ञापनरहित च्यानल दिन नसक्ने जनाइसकेको छ ।

टेलिभिजन प्रदायकहरुले प्रस्तावित विज्ञापन ऐन लागू भएमा डिजिटल टेलिभिजन व्यवसाय नै धरापमा पर्ने दाबी पनि गरेका छन् ।