
काठमाडौं, भदौ २२ । ललितपुुर जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका युवाहरुलाई प्रहरीले तितरबितर पारेको छ ।
गएको बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्नेक्रममा पक्राउ परेका युवाहरुलाई छाड्न भन्दै सोमबार बिहान स्थानीय केही युवाहरु प्रशासन कार्यालय घेराउ गर्न पुगेका हुन् ।
बिहान करिब ११ बजे प्रशासन कार्यालय पुगेका युवाहरु धर्नामा बस्न थालेपछि प्रहरीले रोकेको हो । प्रहरीले धर्नामा बस्न नदिएपछि युवाहरु प्रहरी नभएको स्थानमा भेला भएको देखिन्छ ।
अहिले प्रशासन कार्यालय आसपास क्षेत्रमा व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ ।
गएको बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमतिबिना जबर्जस्ती मत्स्येन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा दिनभर विवाद उत्पन्न भएको थियो ।
युवाहरुले ट्राफिक प्रहरीलाईसमेत कुटपिट गरेका थिए । कुटपिटमा उत्रिएका केही युवाहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा अभियोगमा हिरासतमा राखेको छ ।
प्रतिक्रिया दिनुहोस्