
काठमाडौं, भदौ २३ । यातायात व्यवसायीहरुले विदेशबाट आउनेहरुलाई जिल्लासम्म पुर्याउन सार्वजनिक सवारी-साधनको प्रयोग नगरेको भन्दै मंगलबार यातायात व्यवस्था विभागअगाडि धर्ना दिएका छन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालमा आवद्ध व्यवसायीहरुले विदेशबाट आएका नेपालीलाई ‘होल्डिङ सेन्टर’बाट जिल्लासम्म पुर्याउन सस्तो भाडादर प्रस्ताव गरेपनि बेवास्ता गरिएको भन्दै धर्नामा बसेका हुन् ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई बेवास्ता गर्दै व्यवसायीहरु बबरमहलस्थित विभागको कार्यालयअगाडि धर्नामा बसेका हुन् ।
महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले देशभर सञ्चालनमा रहेका सबै कम्पनीहरुसँग समन्वय गरी सबै प्रदेशका सवारी-साधनहरु सम्बन्धित प्रदेशमा जाने व्यवस्था गर्न माग गरिएको तर ‘सीसीएमसी’बाट बेवास्ता गरिएकोले धर्ना बस्न बाध्य भएको बताउनुभयो ।
होल्डिङ सेन्टरमा रहेका मानिसहरुलाई महँगो भाडादरमा यातायात व्यवसायीबाहेकका सवारी-साधनमार्फत् लग्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
सार्वजनिक यातायात व्यवसायीका सवारी-साधन प्रयोग गरेमा अहिलेको भाडादरभन्दा निकै कम दरमा गन्तव्यमा पुग्नसक्ने भएपनि सीसीएमसीले माफियाहरुको प्रभावमा यात्रुहरुलाई महँगो भाडादर तिर्न बाध्य पारेको रिजालले बताउनुभयो ।
व्यवसायीहरुले सम्बन्धित प्रदेशका सवारीहरु सम्ब्न्धित प्रदेशमै पठाउँदा आलोपालो निर्धारण गरेर सञ्चालन गर्न दिनुपर्ने मागसमेत गरेका छन् ।
कार्यक्षेत्रमा अनुचित ढंगले संकलन गरिएको व्यवस्थापकीयबाहेकका आर्थिक क्रियाकलाप बन्द गर्नसमेत उनीहरुले माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्