२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ग्रीसको आप्रवासी शिविरमा आगलागी, आगो लगाएर एक हजार व्यक्ति भागेको आशंका


0
Shares

काठमाडौं । ग्रीसको लेस्बोस द्वीपमा रहेका आप्रवासी बस्तीमा आगलागी भएपछि एक हजारभन्दा बढी आप्रवासी अन्यत्र भागेको आशंका गरिएको छ ।

ग्रीसको मोरिया शिविर र त्यस आसपासको क्षेत्रमा झण्डै १२ हजार ५०० आप्रवासीले आश्रय लिइरहेका छन् ।

शिविरमा रहेका सोमाली एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि केही दिनदेखि उक्त क्षेत्रलाई लकडाउनमा राखिएको थियो ।

उक्त द्वीपको प्रमुख शहर माइलिनका मेयर स्ट्राटोस काइटेलिसले शिविरको भित्र र बाहिरको क्षेत्रमा आगो फैलिएको र घरहरु क्षतिग्रस्त भएको जानकारी दिनुभयो ।

उहाँले त्यस इलाकामा रहेका करिब १२ हजार आप्रवासीलाई प्रहरीले सुरक्षा दिइरहेको बताउनुभयो ।

बाहिरबाट भित्र गएका केही व्यक्तिमा संक्रमण देखिएकाले अहिले यहाँ निकै कठिन अवस्था उत्पन्न भएको बताउनुभएको छ ।

आगलागीबाट कुनै पनि व्यक्ति घाइते भएका खबरहरु प्राप्त भएका छैनन् । प्रहरीका अनुसार आगलागी अबेर राति शुरु भएको थियो ।

तर आगलागीको कारण र त्यसबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन । लकडाउनको विरोधमा जानाजान आगो लगाइएको हो कि भन्ने बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

स्वास्थ्य अधिकारीहरुले मंगलबार शिविरमा रहेका ३५ जनामा संक्रमण भएको पुष्टी गरेका थिए ।

निकै बाक्लो संख्यामा रहेका आप्रवासीमा संक्रमणको खतरा भएपछि व्यापक रुपमा परीक्षण गर्न आदेश दिइएको छ ।

कोरोना पुष्टी भएका व्यक्तिहरुलाई अलग स्थानमा राखेर उपचार शुरु गरिएको छ । अहिले त्यहाँ दङ्गा प्रहरी पनि परिचालन गरिएको छ ।

गैरकानुनी रुपमा युरोप प्रवेश गर्न खोज्नेहरुका लागि सन् २०१५–१६ मा लेस्बोस निकै व्यस्त प्रवेश विन्दु रहेको थियो । एजेन्सी