१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अर्थतन्त्रका सबै सूचक सकारात्मक : गभर्नर अधिकारी


0
Shares

काठमाडौं, भदौ २४ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड-१९ मा पनि अर्थतन्त्रका सबै सूचक सकारात्मक रहेको दाबी गर्नुभएको छ ।

बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसँगको ‘वेबमिनार’मा गभर्नर अधिकारीले कोभिडको अवधिमा पनि सबै सूचक सकरात्मक रहेको दाबी गर्नुभएको हो ।

गभर्नर अधिकारीले निर्यातमा स्थिरता, आयातमा व्यवस्थापन, चालू खाता घाटामा उल्लेख्य सुधार, शोधनान्तर स्थिति दुई खर्ब ८२ अर्बले बचतमा रहेको र विदेशी विनिमय सञ्चिती १४ खर्बभन्दा माथि रहनुले आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्नसक्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।

गभर्नर अधिकारीले दुई खर्बको हाराहारीमा रहेको तरलतालाई अवसरका रुपमा लिन बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुलाई आग्रह पनि गर्नुभयो ।

बैंक तथा वित्तीय संस्थाहरुसँग अधिक तरलता रहेको र यसलाई समस्याभन्दा पनि सहजताको सूचकको रुपमा लिन जोड दिनुभयो ।

साथै, तरलता बढेको अवस्थामा कर्जा दुरुपयोग हुनसक्नेतर्फ सजग रहन पनि सुझाव दिनुभयो ।

पुनर्कर्जाको लागि आवेदन लिन बैंक तथा वित्तीय संस्थाहरुले आनाकानी गरिरहेको गुनासो प्राप्त भएको उल्लेख गर्दै गभर्नर अधिकारीले राष्ट्र बैंकले जारी गरेका नीतिगत व्यवस्थाप्रति जिम्मेवार रहनसमेत सम्बन्धित सबैलाई आग्रह गर्नुभयो ।