
काठमाडौं, भदौ २४ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा ब्याडमिन्टन खेलका सामग्री खरिद तथा वितरणमा भएको अनियमितता छानबिनका लागि गठित उपसमितिले थप गरिएको समयभित्रै प्रतिवेदन बुझाउने बताएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा गठित छानबिन उपसमितिको म्याद १५ दिन थप गरिएको थियो ।
संयोजक भट्टराईले केही बयानहरु लिन बाँकी रहेको भन्दै बाँकी प्रमाण जुटाउने काम अन्तिम चरणमा पुगेको र थप गरिएको म्यादमा पूरा हुने बताउनुभयो ।
केही व्यक्तिहरुसँग छलफल गरेरमात्रै निष्कर्षमा पुग्न सकिने अवस्था नभएको र बयान लिनुपर्ने केही व्यक्तिहरु उपत्यकाबाहिर भएकाले समय लागेको उहाँको भनाइ छ ।
सहज वातावरण बनेपछि ताकिएको समयमा प्रतिवेदनमा बुझाउने संयोजक भट्टराईले बताउनुभयो ।
यसका अलावा उपसमितिले सातदोबाटोस्थित राखेप परिसरमा भएको रुख कटानकोबारेमा पनि छानबिन गरिरहेको छ । यो विषयमा पनि छानबिन टोलीलाई जिम्मा दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्