
काठमाडौं, भदौ २४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)लाई निर्देशन दिनुभएको छ ।
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागीय प्रमुखसँग बुधबार मन्त्रालयमा भएको संयुक्त बैठकमा मन्त्री भट्टराईले हिमाली, पहाडी तथा दुर्गम क्षेत्रका नागरिकलाई सेवा उपलब्ध गराउन जहाज खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको हो ।
पर्यटनमन्त्री भट्टराईले आन्तरिकतर्फ दुई टुइनटर जहाज भएको र त्यसले माग धान्न नसक्नुका साथै दुर्गम क्षेत्रमा सेवा प्रदान गर्न नसक्ने भएकाले तत्काल खरिद योजना अघि बढाउन निगम व्यवस्थापनलाई आग्रह गर्नुभयो ।
उहाँले निगमलाई ‘पब्लिक मोडल’मा लैजान कुन समय उपयुक्त हुन्छ, त्यसको खाका लगानी कोष, कर्मचारी सञ्चय कोष, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी तयार गर्न निर्देशन दिनुभएको छ ।
मन्त्री भट्टराईले नेपाल एअरलाइन्स ठूलो आर्थिक ऋणमा रहेकोले देशका विभिन्न २३ ठाउँमा रहेका जग्गा व्यावसायिक उपयोग गरी निगमको आर्थिक अवस्था सुधार गर्नसमेत आग्रह गर्नुभयो ।
खर्च कटौती तथा मितव्ययिता अपनाउन, विदेशमा रहेका कर्मचारी कटौती गर्न, बैठक भत्ता घटाउन साथै कर्मचारी, बोर्डका पदाधिकारी र अवकाश पाएका कर्मचारीले पाउने सुविधाबापतको टिकट ५० प्रतिशत कटौती गर्नसमेत आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्