
काठमाडौं । थारु समुदायका महिलाको मुख्य चाड हो जितिया । आज जितियाको दोस्रो दिन अर्थात् मुख्य दिन । निकै रमझमका साथ मनाइने यो पर्वमा यस वर्ष खासै उल्लास छैन ।
कोरोनाको प्रकोपका कारण थारु महिला घरमै बसेर जितिया मनाइरहेका छन् । सामूहिक रुपमा झाम्टा नाँच नाच्दै गाउँदै जितिया मनाउने उनीहरु यसवर्ष घरमै बसेका छन् ।
यस वर्ष चितवनका थारु समुदायले सामूहिक भेला नगरी चाडपर्व मनाउने निर्णय गरेपछि महिलाले घरमै जितिया मनाएका हुन् ।
थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी, पश्चिम र माडी क्षेत्रमा जितिया मनाइन्छ । थारु कल्याणकारिणीसभा (थाकस) चितवनले जितिया मनाउन कार्यविधिसमेत बनाएको छ ।
कोरोनाको सङ्क्रमणबाट समुदायलाई जोगाउँदै चाडपर्वको रक्षा गर्न घरमै बसेर चाडपर्व मनाउने निर्णय गरिएको थारु कल्याणकारिणीसभा जिल्ला कार्यसमिति चितवन सभापति ललितकुमार चौधरीले बताउनुभयो ।
आजको दिन थारु समुदायका महिला बिहानैदेखि निराहर ब्रत बस्छन् । बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहर ब्रतबसी महिला तथा युवती यो पर्व मनाइरहेका छन् ।
यसपटक बिहान दर खाएपछि महिला एक ठाउँमा गीत गाउँदै रमाइलो गर्न पाएनन् । अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्छन् ।
यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने चलन छ । यस्तै जितियामा कोसेली पु¥याउने चलन पनि छ ।
तीन दिनसम्म विभिन्न धार्मिक कार्य गरी यो पर्व मनाइन्छ ।
प्रतिक्रिया दिनुहोस्