
भक्तपुर, भदौ २५ । मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना संक्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ ।
नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’मा कोरोना संक्रमितको उपचारमा तीनओटा नर्सिङ रोबोट परिचालन गरिने भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
आफ्नो नगर क्षेत्रमा कोरोना संक्रमण रोक्न पीसीआर परीक्षणलाई तीव्र बनाएको, क्वारेन्टिनदेखि आइसोलेसन, भेन्टिलेटरसहितको आईसीयू तयारी अवस्थामा राखेको उहाँले जानकारी दिनुभयो ।
अस्पतालमा रोबोटको परीक्षण सम्पन्न गरिसकेको जानकारी दिँदै उहाँले असोजको पहिलो सातादेखि नै नर्सिङ रोबोट सञ्चालनमा ल्याउने र बिरामीलाई औषधि र खानेकुरा रोबोटले दिने गरी तयारी गरेको जानकारी दिनुभयो ।
रोबोटमार्फत् सेवा दिने यो नेपालकै पहिलो अस्पताल हुने जानकारी दिँदै उहाँले नेपालका युवाले निर्माण गरेको तीनओटा रोबोटका लागि करिब रु १५ लाख बजेट खर्च हुने जानकारी दिनुभयो ।
नगरपालिकाले आफ्नै पीसीआर ल्याबमा चैतदेखि हालसम्म नौ हजारको परीक्षण गरिसकेको छ ।
भदौ महिनाको २४ गतेसम्ममा दुई हजार ११२ को परीक्षण गरेको जानकारी दिँदै नगरप्रमुख श्रेष्ठले हालसम्म ३२७ जनालाई संक्रमण भएको, ९० जना निको भएर घर फर्किएको, ९० जना सामुदायिक आइसोलेसनमा र १७१ जना होम आइसोलेसनमा रहेको जानकारी दिनुभयो ।
नगरपालिकाले भयावह अवस्था आउन नदिन ‘कन्ट्याक्ट ट्रेसिङ’लाई व्यापक बनाएको उल्लेख गर्दै उहाँले भन्नुभयो-‘परीक्षणको दायरा बढाएकाले यहाँ बढी संक्रमित देखिएको हो । हामीले संक्रमितको सहज व्यवस्थापन गरेका छौं । हामी जनप्रतिनिधिसहितको टोली संक्रमित परिवारको घरघरमा पुगेर बाहिर बसेर उनीहरुको समस्या बुझ्ने, समस्या भए समाधान गर्ने तथा मनोपरामर्श दिएर हौसला प्रदान गरेका छौं ।’
नगरपालिकाले ८५ शय्याको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि अक्सिजनसहितको ३० शय्याको आइसोलेसन, आठओटा भेन्टिलेटरसहितको ११ शय्याको आईसीयू तयारी अवस्थामा राखेको जानकारी दिँदै उहाँले मिर्गौलाका बिरामीलाई लक्ष्य गर्दै एक शय्याको डायलाइसिस मेसिन तयारी अवस्थामा राखेको बताउनुभयो ।
नगरपालिकाले अस्पतालनजिकैको एक गेस्टहाउसमा बनाएको क्वारेन्टिनमा गत चैतदेखि १०० भन्दा बढी शंकास्पदलाई राखिसकेको छ ।
नगरपालिकाले अहिलेसम्म सरकारसँग पीसीआर परीक्षणको किट लिएको छैन भने नगरपालिका आफैंले खरिद एवं व्यवस्थापन गरेको छ ।
हालैमात्र पाँच लाख बराबरको पाँच हजारथान पीसीआर किट किनेर परीक्षणलाई अझ तीव्रता दिएको छ ।
नगरपालिकाभित्रका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको परीक्षणलाई उच्च प्राथमिकतामा राखेको नगरपालिकाले हिजो २४ गतेमात्रै मध्यपुरथिमि प्रहरी वृत्तका १३० प्रहरीको निःशुल्क पीसीआर परीक्षण गरेको थियो ।
नगरप्रमुख श्रेष्ठले भन्नुभयो-‘बोडेको कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको ५० शय्या क्षमताको भवनलाई आइसोलेसन बनाउने निर्णय भएको छ । यसमा मध्यपुरका बासिन्दालाई प्राथमिकता दिएर संक्रमित राख्ने भएका छौं । यसको खर्च नगरपालिका आफैंले व्यहोर्ने छ ।’
उहाँले मध्यपुरथिमिका जोखिमयुक्त क्षेत्रका बासिन्दा, कोरोना संक्रमितका परिवार, उनीहरुको कन्ट्याक्ट ट्रेसिङमा आएकाहरुको पहिचान गरी स्वाब संकलन र परीक्षणलाई तीव्र पारेको छ ।
नगरपालिकाले आफ्नै ल्याबमा स्वाब संकलन गरेपछि आपत्कालीन अवस्थाको १२ घन्टाभित्र र अरूको २४ घन्टाभित्र पीसीआरको रिपोर्ट दिने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्