१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एलपी ग्यासको खपत ३० प्रतिशतले घट्यो


0
Shares

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको खपत ३० प्रतिशतले घटेको छ ।

कोरोना भाइरस नियन्त्रण गर्न गरिएको लकडाउन र निषेधाज्ञाको कारण होटेल, रेष्टुरेन्ट तथा पार्टी प्यालेस बन्द हुँदा ग्यास खपत घटेको व्यवसायीको भनाइ छ ।

लकडाउनयता बजारमा ग्यासको आयातसँगै खपत पनि घट्दै गएको छ । लामो समयदेखि भएको लकडाउन र निषेधाज्ञाले गर्दा होटेल, रेष्टुरेन्ट, पार्टी प्यालेस, कलेज, उद्योग कलकारखाना सबै बन्द हुँदा ग्यास खपत घट्दै गएको व्यवसायीको भनाइ छ ।

मुलुकभर ग्यासको खपत २५ देखि ३० प्रतिशतले घटेको छ । लकडाउन र निषेधाज्ञाको कारणले गर्दा ग्यासको आयातसँगै खपत पनि कम भएको व्यवसायीहरुले बताएका छन् ।

नेपाल आयल निगमका अनुसार सामान्य अवस्थामा मासिक ४० देखि ४५ हजार टन ग्यास आयात हुने गरेकोमा अहिले ३५ देखि ३७ हजार टन ग्यासको आयात भएको छ ।

ग्यासको आयातसँगै ग्यासको खपत समेत घटेको व्यवसायीले बताएका छन । सरकारले चैत ११ गते लकडाउन गरेलगत्तै बजारमा ग्यासको अभाव देखिएको थियो ।

त्यसबेला व्यवसायीहरूले आधा सिलिण्डर भए पनि उपलब्ध गराएको थियो । त्यति बेला निगमले ग्यासको आयात पर्याप्त गरेपछि अभाव हटाएको थियो ।

त्यसपछि बजारमा ग्यासको अभाव नभएको व्यवसासीको भनाई छ । ग्यासको खपत घटेपछि उद्योगसँग ग्यास स्टक रहेको छ ।

लामो समयदेखि भएको लकडाउनका कारण अधिकांश मानिसहरू आफ्ना गृहजिल्ला फर्कने र पूर्ण रूपमा व्यवसाय बन्द भएसँगै बजारमा ग्यासको खपत घटेको छ ।

उपत्यकामा सवै भन्दा धेरै ग्यासको खपत घटेको व्यवसायीहरुले बताएका छन् । उपत्यकामा मात्रै दैनिक ४० हजार ग्यास खपत हुनेमा अहिले २० हजारभन्दा कम खपत व्यवसायीको भनाइ छ ।

सामान्य अवस्थामा ७० प्रतिशत औद्यौगिक प्रयोजन र ३० प्रतिशत ग्यास घरायसी प्रयोजनका लागि खपत हुने गरेको छ ।

हाल उद्योगसँग १५ हजार टन ग्यास स्टोर रहेको एलपी ग्यास उद्योग संघले जनाएको छ । नेपालभर ५८ वटा उद्योग छन् ।

ती उद्योगहरूले एक सय टनदेखि एक हजार टनसम्म क्षमता रहेको संघको भनाइ छ । निजी उद्योगसँग ६ हजार टन ग्यास भण्डारण गर्ने क्षमता रहेको छ ।

ग्यासको बजार मूल्य एक हजार ३ सय ७५ रुपैयाँ रहेको छ ।