१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


ललितपुर महानगरपालिकाको बजेट चार अर्ब ६० करोड


39
Shares

ललितपुर, असार ३२ । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि रु चार अर्ब ६० करोड ७२ लाख ८७ हजारको बजेट सार्वजनिक गरेको छ ।

महानगरपालिकाले सोमबार कार्यालय परिसरमा आयोजना गरेको कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले दोस्रो नगरसभाबाट पारित बजेट सार्वजनिक गरे ।

महानगरपालिकाको चालू प्रशासनिक खर्च रु एक अर्ब ६ करोड ५० लाख अनुमान गरिएको छ ।

व्ययतर्फ चालू सामाजिक सुरक्षा भत्ता रु ३० करोड र पुँजीगत कार्यक्रम खर्च रु दुई अर्ब ४० करोड ८ लाख ३७ हजार अनुमान गरिएको छ ।

वैदेशिक अनुदान कार्यक्रममार्फत् रु ८२ करोड १४ लाख ५० हजार र सडक बोर्डमार्फत् रु दुई करोड खर्च हुने अनुमान गरिएको छ ।

आगामी आवको प्रस्तावित आयमा रु ९२ करोड ७८ लाख (२० प्रतिशत) संघीय सरकार र प्रदेश सरकारबाट अनुमानित आय विनियोजन गरिएको छ ।

आन्तरिक स्रोतबाट रु एक अर्ब ७७ करोड ५४ लाख र वैदेशिक अनुदानतर्फ रु ८२ करोड १४ लाख ५० हजार अनुमान गरिएको छ ।

सडक बोर्ड, सामाजिक सुरक्षा भत्ता, राजश्व बाँडफाँट, मौज्दात रकम र अन्य विविध आय महानगरपालिकाले अनुमान गरेर बजेट विनियोजन गरेको हो ।

प्रतिनिधिसभा सदस्य कृष्णलाल महर्जनले विकासले गति लिन नसक्दा जनतामा निराशा हुनसक्ने बताए ।

प्रदेशसभा सांसद माधव पौडेलले आकर्षक नारा र कार्यक्रम सफल हुने वा नहुने भन्ने त्यसका लागि कति बजेट छुट्याएको छ ? भन्नेमा निर्भर हुने बताए ।

बजेट सार्वजनिक गर्दै महानगर प्रमुख महर्जनले पहिलो एक वर्ष महानगरलाई समृद्ध, सुशासित र सुविधायुक्त बनाउन लागिपरेको बताए ।

प्रदेशको कानुन निर्माणमा भइरहेको ढिलाइले आवश्यक कानुन निर्माणको बाटो नखुलेको उनले बताए ।

महानगरपालिकाका उपप्रमुख गीता सत्यालले महानगरपालिकाका कार्यक्रम २९ ओटै वडामा पुग्ने बताइन् ।

उनले भनिन्–‘यी सबै वडाले महसुस गर्ने गरी विकास गर्नु अहिलेको आवश्यकता हो ।’ रासस