१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘कोरोना रोकथामको लागि नागरिक नै सचेत हुन आवश्यक’


0
Shares

coronavirus

काठमाडौं, भदौ २६ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर दिनदिनै उकालो लागिरहेको छ । पछिल्लोपटक जारी गरिएको निषेधाज्ञापछि पनि संक्रमणको दरमा कमी आएको छैन ।

जनस्वास्थ्यविद्हरुले निषेधाज्ञा र ‘लकडाउन’मात्रले कोरोना रोकथाम तथा नियन्त्रणमा आउन नसक्ने भन्दै सर्वसाधरण नै सचेत हुन आवश्यक रहेकोमा जोड दिँदै आएका छन् ।

तर, संक्रमणको दर दिनानुदिन बढिरहँदा पनि सर्वसाधरण भने आवश्यक सुरक्षा सावधानी अपनाउन हेलचेक्र्याइँ गरिरहेका छन् ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि भन्दै गत चैत ११ गतेदेखि १२० दिन लामो लकडाउन गरिएको थियो । एकजना संक्रमित हुँदा गरिएको लकडाउन अन्त्य हुँदा देशभर संक्रमितको संख्या १८ हजारको हाराहारीमा पुग्यो ।

अहिलेपनि लकडाउन खुकुलो बनेसँगै उपत्यकामा संक्रमितको संख्या बढ्न थाल्यो ।

एक साताका लागि जारी गरिएको निषेधज्ञा लम्बिएर २२ दिनसम्म पुग्दा यस अवधिमा मात्र उपत्यकामा पाँच हजारको हाराहारीमा संक्रमित थपिए ।

सरकारले संक्रमण रोकथामका लागि आम नागरिकहरुलाई सुरक्षाको माण्दण्ड अपनाएर सचेत हुन आग्रह गर्दै आइरहेको छ भने जनस्वास्थ्यविद्हरुले पनि कोरोना रोकथामको लागि व्यक्ति आफैं सचेत हुनुको विकल्प नदेखिएको बताउँछन् ।

भदौ २ गतेदेखि जारी भएको निषेधज्ञा सरकारले शर्तसहित २४ गतेदेखि खुकुलो बनाएको छ । स्वास्थ सुरक्षा मापदण्ड पूरा गरेर सार्वजनिक तथा निजी सवारी-साधन चलाउन पाउने, बारअनुसार व्यापार-व्यवसाय खोल्न पाउने व्यवस्था मिलाइएको छ ।

तर, न त सार्वजनिक यातायातमा सुरक्षाका मापदण्ड पूरा गरिएको छ, न त बारअनुसार सञ्चालन गर्ने भनिएको धेरैजसो व्यापार-व्यवसाय शर्तअनुसार सञ्चालित छन् । अनुगमन पनि प्रभावकारी हुनसकेको छैन ।

सर्वसाधारणलाई बाहिर निस्कँदा मास्क अनिवार्यमात्र गरिएको छैन, प्रयोग नगर्नेलाई जरिवाना पनि तोकिएको छ । तर, मास्कको प्रयोग नगर्ने र मास्क देखाउनको लागिमात्र प्रयोग गर्नेपनि धेरै भेटिन्छन् ।

कोही एकै परिवारको भन्दै सामाजिक दूरी कायम गर्दैनन् भने कोही भने मास्क प्रयोग गर्दा समस्या हुने बताउँछन् ।

अहिले भेला, जमघटमा रोक लगाइएको छ । तर, एकै ठाउँमा भेला भएर गफिने मानिसको संख्या पनि बढ्न थालेको छ ।

जबसम्म व्यक्ति स्वयं संक्रमणप्रति सजग र सचेत हुँदैन, महामारी नियन्त्रण प्रभावकारी बन्न सक्दैन ।

यसर्थ, महामारीको यो समयमा कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले जारी गरेका नियमहरु पालना गर्दै सावधानी र सचेततापूर्वक आफ्ना व्यवहार अघि बढाउनु नै अहिलेको आवश्यकता हो ।

भिडियो हेर्नुहोस्