
काठमाडौं, भदौ २७ । प्रहरीले काठमाडौंमा दुर्लभ वन्यजन्तु कछुवासहित पाँचजनालाई शनिबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्खेत, भेरीगंगाका २५ वर्षीय सर्वराज बुढा, नुवाकोट, बेलकोटगढी नगरपालिका-५ बस्ने १८ वर्षका सुरेन्द्र श्रेष्ठ र १९ वर्षका प्रमोद बास्कोटा, काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका-८ बस्ने २७ वर्षीय सन्तोष रम्तेल र रौतहटका १८ वर्षीय रुपेश तिमिल्सिना रहेका छन् ।
विशेष सूचनाको आधारमा काठमाडौं महानगरापलिका-१४ स्थित कलंकीबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।
उनीहरुलाई प्रहरी वृत्त कालिमाटी र महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।
शुक्रबार राति चितवनबाट बिक्री-वितरण गर्न कछुवा काठमाडौं ल्याउँदैछ भन्ने सूचना प्रहरीमा आएको थियो ।
सोही सूचनाको आधारमा खोजतलास गर्नेक्रममा उनीहरुलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
उहाँकाअनुसार कछुवा रु ३५ लाखमा बिक्री-वितरण गर्न मोततोल भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
उनीहरुको साथमा फेलापरेको पहेँलो रङको कछुवाको तौल ७०० ग्रामको र लम्बाइ १२ इन्चको छ ।
उनीहरुमाथि महानगरीय प्रहरी वृत्त कालिमाटीले अनुसन्धान थालेको छ ।
प्रतिक्रिया दिनुहोस्