
सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका ७ घुम्थाङको नागपुजे र भीरकोट तथा जुगल गाउँपालिका ५ चनौटेमा पहिरो जाँदा २४ घर पुरिएको छ ।
गए राति देखि परेको अविरल वर्षाका कारण गएको पहिरोमा परि नागपुजेको ६ घर, भीरखर्कको १२ घर र चनौटेको ८ घर गरी २४ घर पुरिएको हो ।
नागपुजे र भीरखर्कम पहिरो जाँदा २४ जना वेपत्ता भएका छन् । भने तीन जनाको शव भेटिएको छ।
नागपुजेको श्रेष्ठ टोलका १५ जना र भीरखर्कका ९ जना गरी २४ जना वेपत्ता भएका हुन् ।नागपुजेका एक र भीरखर्कका विक टोलका दुई जनाको शव भेटिएको छ ।
नागपुजेका ७० वर्षीय भक्तिमाया श्रेष्ठको शव भेटिएको प्रहरी निरिक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।
नागपुजेमा स्थानीय, शसस्त्र प्रहरी, नेपाल प्रहरीले वेपत्ता भएकाको खोजी गरिरहेका छन् ।
वर्षाका कारण कच्ची सडक बन्द रहेकाले उद्धार गरिएका पाँच घाइतेको थप उपचारका लागि पठाउन कठिनाइ भैरहेको घटनास्थल पुगेका सञ्चारकर्मी निरज चौलागाईले बताउनुभयो ।
यता भीरखर्कमा दुई जनाको शव भेटिएको छ । सञ्चारकर्मी चौलागाईका अनुसार अहिले २४ वर्षीय जुनमाया विक र ४० वर्षीय सर्कीनी प्रधानको शव भेटिएको हो । घटनास्थल पुगेर प्रहरीले १२ वटा घरमा पुरिएकाहरुको खोजी कार्य गर्दैछ ।
भर्खरै प्रहरी पुगेकाले थप विवरण आउन बाँकी छ । यता जुगल गाउँपालिका ५ चनौटेमा पहिरोका कारण ८ घर पुरिएको छ ।
गएराति पहिरोले ८ घर पुर्दा तीन जना घाइते भएका वडाध्यक्ष सनत अधिकारीले जानकारी दिनुभयो ।
माथिबाट पहिरो आएपछि स्थानीय भागेकाले मानवीय क्षति नभएको उहाँले बताउनुभयो । पहिरोका कारण ५० घर जोखिममा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्