
विराटनगर । कोरोना महमामारीका कारण प्रताडित बनेका प्रदेश–१ का किसान धान पसाउने बेलामा गबरा किरा लागेपछि झन पीडित बनेका छन् ।
धानमा किरा लागेपछि मोरङ, झापा, र सुनसरीका किसान समस्यामा परेका हुन् । किरा लागेर धान मर्न थालेपछि यस वर्ष उत्पादन घट्ने चिन्ता कृषकलाई छ ।
मौसमले साथ दिएर पर्याप्त वर्षा भएपछि धान उत्पादन बढ्ने आशा गरेका मोरङका कृषक धानमा गबरा रोग लागेपछि चिन्तित भएका हुन् ।
धान पसाउने बेलामा गबरा किरा लागेर मर्न थालेपछि धान उत्पादन घट्ने अवस्था आएको हो ।
धानमा किरा लागेर रातो भए पनि कुन औषधि प्रयोग गर्ने भन्ने जानकारी कृषकलाई छैन । कृषि प्राविधिकको सल्लाह बिनै उनीहरू धानमा औषधिको प्रयोग गरिरहेका छन् ।
कोरोना संक्रमणले अर्थतन्त्र धरासायी बनिरहेका बेला धान पसाउने बेलामा किरा लागेर रातो हुन थालेको र बाला नै नलाग्ने होकी भन्ने चिन्ताले कृषकलाई सताएको छ ।
सकेसम्म औषधिको प्रयोग नगर्ने तर, अन्य उपायबाट किरा नियन्त्रणमा नआए मात्रै सिफारिस गरेका औषधि प्रयोग गर्नुपर्ने कृषि प्राविधिकहरुको सुझाव छ ।
जथाभावि औषधिको प्रयोगले धानबालीलाई हानी पुर्याउने प्राविधिकहरू बताउँछन् ।
धानमा किरा लागे जैविक विधिबाट पनि किरा नियन्त्रण गर्न सकिने र धानमा पानीको मात्रा घटबढ गरेर किरा नियन्त्रणमा लिन सकिने उनीहरुको सुझाव छ ।
रोग र किरा लागेर नोक्सान भएपनि कृषि प्राविधिकको पहुँच नपुग्दा झापा, मोरङ र सुनसरीका कृषक पीडित हुने गरेका छन् ।
कुन रोगका लागि के औषधि प्रयोग गर्ने भन्ने ज्ञानसमेत किसानलाई छैन ।
समयमै रोग र किरा नियन्त्रण गर्न र बाली जोगाउन सरकारले कृषि प्राविधिकहरूको पहुँच किसानसम्म पुर्याउन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्