
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको वडा नम्बर ७ मा गएको पहिरोमा परेर बेपत्ता भएका ७ जनाको शव फेला परेको छ ।
नागपुजे र भीरखर्कमा गएको पहिरोमा परेर ज्यान गुमाएका ७ जनाको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाका अनुसार नागपुजे र भीरखर्कको पहिरोमा ज्यान गुमाउनेमा नागपुजेका ६२ वर्षिया भक्तिमाया श्रेष्ठ, ९८ वर्षिया ट्याक्सी शेर्पा, भीरखर्कका २३ वर्षकी जुनु विक ,२४ वर्षका शुकलाल विक, ८ वर्षका सन्देश विक र नेवार टोलका ६० वर्षिया सर्किनी नेवार ,६५ वर्षका धनलाल विक रहेका छन् ।
पहिरोमा परेर अन्य २४ जना बेपत्ता रहेकाको खोजी भैरहेको डीएसपी सापकोटाले जानकारी दिनुभयो ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पहिरो गएका स्थानमा नेपाली सेना, प्रहरी, सशस्त्र परिचालन भएको जानकारी दिनुभयो । अहिले प्रभावितको उद्धार तथा बेपत्ताको खोजी कार्य जारी रहेको छ ।
पल्लोछेउ देखि वारी भिरखर्क क्षेत्रर पहिरोनैपहिरो खसिरहेकाले शोकाकुल स्थानीय त्रसित भएर तल्लो भेगमा बसाइ सर्दैछन् । भीरखर्क र नागपुजेका बाँकी बसेका ५८ परिवार त्रसित भएर बसाइ सर्दैछन् ।
उद्धार कार्यमा खटिएका इलाका प्रहरी बाह्रबिसे प्रहरी निरीक्षक नवराज न्यौपानेले भीरखर्क क्षेत्र पहिरोले घर बगाउदा घाइते भएका तीन जनाको बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछि काठमाण्डौ रिफर गरिएको बताउनुभयो ।
सिन्धुपाल्चोकको लिदीमा यसअघि गत साउन ३० गते गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो भने दुईजना अझै बेपत्ता छन् ।
यस्तै बाह्रबिसे नगरपालिकाकै बुल्कोटमा गत असार २४ गते राति गएको पहिरोमा परि २३ जना बेपत्ता भएका थिए ।
यसैबीच प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा पहिरोस्थल पुग्नुभएको छ । सभामुख सापकोटाले पहिरो स्थलमा भएको उद्धारको अवलोकन गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्