११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


सञ्चारगृहमा आक्रमण गर्नेलाई कारबाही हुन्छ : मुख्यमन्त्री भट्ट


0
Shares

कैलाली, भदौ २९ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिनेश सञ्चारगृहमा आक्रमण र पत्रकारमाथि कुटपिट गर्नेहरुलाई कारबाही हुने बताउनुभएको छ ।

सोमबार नेपाल पत्रकार महासंघ कैलाली शाखाको ध्यानाकर्षणपत्र बुझ्दै उहाँले दिनेश सञ्चारगृह र त्यहाँका पत्रकारमाथि भएको आक्रमणको घटनामा संलग्नलाई कारबाही हुने बताउनुभएको हो ।

सञ्चारगृहमाथि आक्रमण भएको जानकारी पाउनेबित्तिकै प्रहरी, प्रशासनसँग कुराकानी गरेको बताउँदै उहाँले घटनामा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।

समाचारप्रति असन्तुष्टि भए कानुनी उपचारको बाटो खुला भएपनि सञ्चारगृहमै आक्रमण गर्नु दुःखद् भएको मुख्यमन्त्री भट्टले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष जगद साउदले आक्रमण भएको चार दिन हुँदासम्म पनि संलग्न पक्राउ नपरेको भन्दै दोषीमाथि कारबाही हुनुपर्ने माग गर्नुभयो ।

दिनेश सञ्चारगृह र त्यहाँका पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै महासंघले आन्दोलन जारी राखेको छ ।

पीडित पक्षले कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिएपनि प्रहरीले संलग्नलाई पक्राउ नगरेको भन्दै सोमबार जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना पनि दिइएको हो ।

गएको शुक्रबार धनगढीस्थित दिनेश सञ्चारगृहको कार्यालयमा पुगेका १५-२० जनाको समूहले गृहका सहसम्पादक जनक विष्टलाई कुटपिट गरेको थियो । व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हातपात भएको थियो ।