
काठमाडौं, भदौ २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले पछिल्लो समय अख्तियारले उदाहरणीय काम गर्न नसकेको बताउनुभएको छ ।
पछिल्लो आठ-दश वर्षयता सानातिना मुद्दा लगाउने तर ठूला मुद्दाहरुलाई नदेख्ने प्रवृत्ति देखा पर्दा उदाहरणीय काम नदेखिएको उहाँको भनाइ छ ।
अख्तियारका पूर्वप्रमुख उपाध्यायले अख्तियारमा दक्ष मान्छेहरु नहुँदा आरोपपत्र सही ढंगले तयार नभएकाले साना-मसिना ‘केस’हरुमा अख्तियार अल्झिएको हुनसक्ने बताउनभयो ।
विवादास्पद मान्छे नियुक्त गरेपछि त्यसको नतिजा पनि विवादास्पद नै आउने गरेको उहाँको भनाइ छ ।
राजनीतिक नेतृत्वले अख्तियारको प्रमुख आयुक्त छान्ने भएकाले गलत मान्छे नियुक्त गरेमा त्यसबाट निस्कने परिणामको जिम्मेवारी पनि छान्ने व्यक्तिहरुले नै लिनुपर्ने उपाध्यायले बताउनुभयो ।
अख्तियारमा जाखिर खानमात्रै आउने व्यक्तिले कुनैपनि राम्रो नतिजा दिन नसक्ने उहाँले बताउनुभयो ।
अख्तियार प्रमुख आयुक्त भइसकेका व्यक्तिहरु नै अख्तियारको कारबाहीमा पर्ने, अदालतमा मुद्दा पर्ने, योग्यता नपुगेर अदालतले हटाइदिनुपर्नेलगायतका क्रियाकलापले अख्तियारको लोकप्रियता घट्दै गएको स्पष्ट हुने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्