
इलाम । सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण र सिमानाको सुरक्षाका लागि इलामका दुई स्थानमा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट स्थापना गरिएको छ ।
इलामको नेपाल भारत सीमा क्षेत्रको साढे ५२ किलोमिटरमा ७ वटा सीमा सुरक्षा पोष्ट स्थापना गर्ने नीतिअनुसार सुरक्षा पोष्ट स्थापनापछि स्थानीयले सुरक्षित महसुस गरेका छन् ।
शसस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट स्थापना पछि इलामको रोङ गाउँपालिका ६ का कुमार मोक्तानले आफू सुरक्षित भएको अनुभुति गर्नुभएको छ ।
भारतसँग सीमा जोडिएको सलकपुर क्षेत्रमा चोरी तस्करी र अपराधिक घटनाबाट त्रसित भएका स्थानीय सशस्त्र प्रहरीको उपस्थितिसँगै खुशी देखिन्छन् ।
सरकारले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि सीमा सुरक्षा पोष्ट राख्ने निर्णयपछि इलाममा २ वटा सुरक्षा पोष्ट थपिएका हुन् ।
इलामको रोङ गाउँपालिको सलकपुर र सूर्योदय नगरपालिकाको समाल्बुङमा सुरक्षा पोष्ट राखिएसँगै शान्ति सुरक्षामा सुदृढ हुने जनप्रत्रिनिधिले विश्वास लिएका छन् ।
सशस्त्र प्रहरीका २ वटा पोष्ट थपिएसँगै इलामको सीमा क्षेत्रमा ३ वटा सीमा सुरक्षा पोष्ट भएका छन् ।
एक वर्षअघि पशुपतिनगरमा पोष्ट स्थापना गरिएको थियो ।
नेपाल भारत सीमा क्षेत्रको साढे ५२ किलोमिटरमा ७ वटा सीमा सुरक्षा पोष्ट स्थापना गर्ने नीति अनुसार बीओपी स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइँले बताउनुभयो ।
इलामको पशुपतिनगर, छब्बिसे, समाल्बुङ, सकलकपुर, कालपोखरी, जौबारी र मानेभञ्ज्याङ्गमा सीमा सुरक्षा पोष्ट राख्ने सरकारको तयारी छ ।
जिल्लाको छब्बीसे, हिले, सन्दकपुरलगायतका क्षेत्रमा भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गर्दै आएका छन् ।
इलामको नेपाल भारत सीमा क्षेत्रको पशुपतिनगरमा रहेको बीओपीले मात्र यी सम्पूर्ण क्षेत्र हेर्दै आउँदा समस्या भएकोमा थप दुईवटा बीओपी स्थापना गरिएपछि शान्ति सुरक्षा कायम गर्न सहज हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्