
काठमाडौं, भदौ ३० । सभामुख अग्निप्रसाद सापकोटासित नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाभेदले शिष्टाचार भेट गर्नुभएको छ ।
मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटवार्ता भएको हो ।
सो अवसरमा दुई देशबीचको सम्बन्ध, सहकार्य र आपसी हितका विषयमा छलफल भएको थियो ।
भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६० वर्ष लामो मैत्रीपूर्ण सम्बन्ध रहेको र दुई देशबीचको सम्बन्धमा समस्या नरहेको चर्चा गर्नुभयो ।
उहाँले मानव जातिलाई परेको कोरोना संकट पार गर्न सबै मिलेर लड्नुको विकल्प नभएकोमा जोड दिनुभयो । साथै, पाकिस्तानले कोरोना नियन्त्रणका लागि गरेको प्रयासको प्रशंसासमेत गर्नुभयो ।
सभामुख सापकोटाले कोरोनाको अन्त्यपछि दुई देशका संसदबीचको सहकार्य र थाती रहेका अरु विषयहरु अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
चारवर्षे कार्यकाल सकेर स्वदेश फर्कन लाग्नुभएका राजदूत जाभेदले नेपाल बसाइँकाक्रममा संघीय संसदबाट भएको सहयोगप्रति आभार प्रकट गर्नुभयो ।
उहाँले कोरोनाका कारण सात महिनायता दुई देशका संसदबीचको नियमित कामसमेत हुन नसकेको चर्चा गर्नुभयो ।
कोरोनाको अन्त्यपछि सम्बन्ध विस्तृत र व्यापक हुने विश्वास उहाँले व्यक्त गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्