१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘लक्षण नभएका व्यक्तिको कोरोना परीक्षण नगर्ने निर्णय राम्रो’


0
Shares

coronavirus

काठमाडौं, भदौ ३० । कोरोना संक्रमितको संख्या दैनिकरुपमा बढिरहँदा परीक्षणको दायरा अझ बढाउन विज्ञहरुले सुझाव दिइरहेका छन् ।

तर, सरकार भने लक्षण नदेखिएका व्यक्तिको कोरोना परीक्षण नगर्ने निर्णयमा पुगेको छ ।

कोरोना महामारीमा अग्रमोर्चामा रही काम गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, प्रयोगशालामा काम गर्नेदेखि सरसफाइका काम गर्ने कर्मचारीमा समेत कोरोनाको लक्षण छैन भने उनीहरुकोसमेत परीक्षण नगर्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको हो ।

‘आइसोलेसन’मा भने बस्नुपर्ने तर लक्षण छैन भने परीक्षण गर्नु नपर्ने मन्त्रालयले जनाएको छ ।

तर, कुनै लक्षण वा चिन्ह् देखिए, पीपीई राम्रोसँग नलगाइ प्रयोग गरिएको भएमात्र उनीहरुको परीक्षण गर्ने निर्णय भएको मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जानकारी दिनुभयो ।

लक्षण नभएका सबै व्यक्तिहरुको परीक्षण गर्न आवश्यक नरहेकाले प्राविधिकरुपमा मन्त्रालयले नीति अघि सारेको उहाँको भनाइ छ ।

विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जाँदा १४ दिन अनिवार्यरुपमा ‘क्वारेन्टिन’मा बस्नुपर्ने तर सबैको परीक्षण गर्न स्रोत साधनले नसक्ने अवस्था देखिएको भन्दै सहप्रवक्ता डा. अधिकारीले यस्तो नीति अघि सारिएको बताउनुभयो ।

जनस्वास्थ्यविज्ञ डा. बाबुराम मरासिनीले भने लक्षण नभएका व्यक्तिहरुको परीक्षण नगर्ने निर्णय राम्रो भएपनि संक्रमितको सम्पर्कमा आएका व्यक्तिको पहिचान गर्नुपर्ने बताउनुभयो ।

लक्षण नदेखिएका व्यक्तिले अरुलाई कोरोना सार्ने सम्भावना उच्च रहन्छ । तर, संक्रमितको सम्पर्कमा आएका व्यक्ति स्वंय सचेत भइ घरमा नै आइसोलेसनमा बस्ने हो भने संक्रमण सर्ने सम्भावना कम हुन्छ ।

तर, अग्रपंक्तिमा काम गर्ने चिकित्सकहरु र स्वास्थ्यकर्मीको भने लक्षण नभएपनि परीक्षण गर्नुपर्ने डा. मरासिनीको भनाइ छ ।

मन्त्रालयले लक्षण भएका र विपन्न नागरिककोमात्र निःशुल्क उपचार गर्नेसमेत निर्णय गरेको छ । अन्य बिरामीले भने आफ्नै खर्चमा उपचार गर्नुपर्नेछ ।