
काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का फरवार्ड नेइमारले दुई वटा खेल खेल्न नपाउने भएका छन् ।
मार्सेइलीसँगको खेलमा भएको विवादपछि रातो कार्ड पाएका नेइमारलाई दुई खेलको प्रतिबन्ध लगाइएको हो ।
तर फ्रान्सेली फुटबलको प्रशासकीय निकायले आफूमाथि रंगभेदी व्यवहार भएको भन्ने नेइमारको आरोपको छानबिन गर्ने जनाएको छ ।
गत आइतबार राति भएको खेलमा पिएसजीका तीन र मार्सेइलीका दुई गरी पाँच खेलाडीले इन्जुरी समयमा रातो कार्ड पाएका थिए ।
मार्सेइलीका डिफेन्डर अल्भारो गोन्जालेजलाई टाउकोमा हिर्काएका कारण नेइमारले रातो कार्ड पाएका थिए ।
नेइमारले त्यसपछि आफूमाथि अल्भारोले रंगभेदी टिप्पणी गरेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल मार्फत पनि सो आरोप लगाउँदै छानबिनका लागि माग गरेका छन् ।
अल्भारोले भने नेइमारको आरोप अस्वीकार गरेका छन् । नेइमारसँगै रातो कार्ड पाएका अरु चार खेलाडीमाथि पनि प्रतिबन्ध लागेको छ ।
पिएसजीका डिफेन्डर लेविन कुर्जावालाई ६ खेलका लागि निलम्बित गरिएको छ । यस्तै पिएसजीका लियान्ड्रो पारेडेस पनि दुई खेलका लागि प्रतिबन्धित भएका छन् ।
मार्सेइलीका जोर्डन एमावीले तीन खेलको निलम्बन पाएका छन् भने डारिओ बेनेडिट्टो एक खेलमा बाहिरै बस्नु पर्ने भएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्