१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ललितपुर महानगरका मेयरले भने: अब वर्षदिन नबित्दै सडक भत्किने छैनन्


0
Shares

ललितपुर । ललितपुर महानगरपालिकाले फेज–३ अन्तर्गत २१ वटा भित्री कालोपत्रेसहितका सडकहरुको निर्माण सुरु गरेको छ ।

विहीबार वडा १५ स्थित स्वीमिङपुलदेखि ओलम्पिक कमिटी कार्यालय सडक–खण्डको शिलान्यास गर्दै मेयर चिरिबाबु महर्जनले गुणस्तरीय मापदण्डअनुरुप सडक बनाउने महानगरको योजनालाई अगाडी बढाएको बताउनुभयो ।

वर्षदिन नबित्दै भत्किने सडकहरुका कारण स्थानीयहरुले दुःख पाएकले अब बन्ने सडकहरु मापदण्डअनुरुप नै बन्नेमा दावी गर्नुभयो ।

मापदण्डविपरित बनेका तीन वटा सडकका काम तत्काल रोक्न लगाएको बताउँदै उहाँले सडक विभाग र महानगरले बनाएको सडकहरु गुणस्तरीय भएको जिकिर गर्नुभयो ।

नगरसभाले स्वीकृत गरेका योजनाहरु कार्यान्वयनमा ल्याउन २६ करोड ८८ लाख लागतमा सडकहरु बन्ने महानगरपालिकाले जनाएको छ ।

महानगरका पूर्वाधार महाशाखा प्रमुख रुद्र गौतमले महानगरक्षेत्रमा ८ दशमलव ६२ किलोमिटर सडक बनाउने काम अगाडी बढेको बताउनुभयो ।

उहाँले शिलान्यास गरिएको ३ सय ४० मिटर सडकखण्ड ९ महिनाभित्रै तयार हुने बताउनुभयो ।

यता, वडा–१५ का वडाअध्यक्ष सुदर्शन मिश्रले बन्दै गरेको सडकलाई महानगर र वडाले मापदण्डको अनुगमन गर्ने र यसमा स्थानीयको पनि सक्रिय भूूमिका रहनेमा विश्वास व्यक्त गर्नुभयो ।