
वासिङ्टन, असोज १ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरसविरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताउनुभएको छ ।
स्थानीय समयअनुसार बुधबार उहाँले अक्टोबरमा देशभरि नै खोप वितरण गर्न सकिने सम्भावना रहेको जानकारी दिनुभएको हो ।
उहाँले सन् २०२० को अन्त्यसम्ममा १० करोड खोप वितरण गर्ने तयारी भइरहेको बताउनुभयो ।
‘कोरोनाभाइरसविरुद्धको खोप तयार हुँदैछ । हामी आगामी अक्टोबर महिनामा त्यसलाई वितरण गर्न सक्ने अवस्थामा पुग्ने विश्वास लिएको छु । यो सबैका लागि धेरै उपयोगी र प्रभावकारी हुनेछ’- उहाँले भन्नुभयो ।
उहाँले थप्नुभयो-‘यसलाई कहिलेदेखि वितरण गर्न सकिनेछ भन्ने कुरा जतिसक्दो चाँडो घोषणा गर्ने तयारी भइरहेको छ ।’
उहाँले अक्टोबरको मध्यसम्ममा कोरोनाविरुद्धको खोप प्रयोगमा आउने अनुमान गर्दै केहीगरी ढिला भएमा केही दिनमात्रै ढिला हुनसक्ने बताउनुभयो ।
आफूले जतिसक्दो चाँडो कोरोना नियन्त्रणका प्रयासहरु गरिरहेको दाबी गर्दै राष्ट्रपति ट्रम्पले डेमोक्र्याटतर्फका आफ्ना प्रतिस्पर्धीले भने त्यसलाई रोक्नसक्ने आरोप पनि लगाउनुभयो ।
कोरोनाभाइरसबाट अतिप्रभावित भएको अमेरिकामा अहिलेसम्म ६६ लाख १६ हजार ४५८ जना संक्रमित भएका छन् भने कोरोनाकै कारण एक लाख ९६ हजार ४३६ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्